७ बैशाख २०८१, शुक्रबार
५८० सङ्क्रमित थपिए, उपत्यकाका २५४ मा सङ्क्रमणको पुष्टि

  • टाइम्स संवाददाता

  • १ बैशाख २०७८, बुधबार १८:१८

नेपालमा कोरोनाभाइरसका ५८० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २८९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४५१ जनाको एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा २५४ जना सङ्क्रमित पहिचान गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हाल चार हजार ५६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल ७९ जना क्वारेन्टिनमा र चार हजार ५६ जना आइसोलेशनमा छन् । ४५७ जना हाल संस्थागत् आइसोलेशनमा र तीन हजार ५९९ जना होम आइसोलेशनमा छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल ८० जना सङ्क्रमित सघन उपचार कक्ष र २५ जना भेन्टिलेटरमा  छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । कोरोना सङ्क्रमणले हालसम्म नेपालमा तीन हजार ६१ जनाको मृत्यु भएको हो । हालसम्म २३ लाख २५ हजार ९५९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Nabintech