थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विदार्थीहरुले इलेक्ट्रिकल भेहिकल (ईभी) बनाएका छन् ।
उनीहरुले मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि नभई आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि भेहिकल बनाएका हुन् ।
उनीहरुले तयार गरेको भेहिकलको चेसिस मात्र तयार गरिएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले भेहिकलको बाहिरी भाग पनि चाँडै तयार गर्ने गरी काम अघि बढाइरहेका छन्।
भेहिकल तयार पार्ने टिमको नाम सिरेटो रहेको छ । नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर उनीहरुले टिमको नामकरण गरेका हुन् । अर्थात् प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा भेहिकल बनाउने काम भइरहेको उनीहरुले बताएका छन् ।
सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ ।
सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल,इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् ।
फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेको सहयोगमा उनीहरूलाई भेहिकल तयार पार्ने काम गरिरहेका छन् ।
घिमिरेको सल्लाह र सुझा अनुसार मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा, अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन् ।
विद्यार्थीलाई इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपको सहयोग रहने छ । गोल्छा ग्रुपका प्रबन्ध निर्देशक सेखर गोल्छाले भने, ‘टिम सिरेटो जब हाम्रोमा आएर आफ्नो सोच राख्नु भयो हामीलाई एकदम राम्रो लाग्यो र हामीले यसलाई लाग्ने खर्च बेहोर्ने भयौं। हामी सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएका छौं र सधैं गर्ने छौं। ईभी तयार पार्न करिब ४ लाख रुपैयाँ र प्रतिस्पर्धामा सहभागी हुन ५ लाख रुपैयाँ लाग्ने अनुमान गरेर बसेको छ समूह ।’