युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् । पहिलो क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपमा क्वाटरफाइनल खेल्न लागेको स्वीट्जरल्याण्ड र सर्वाधिक तीन पटकको विजेता स्पेनबीच नेपाली समयअनुसार राति ९:४५ बजे खेल शुरु हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । विजेताले बेल्जियम र इटलीबीचको विजेतासँग खेल्नेछ । साविक उपविजेता तथा विश्व विजेता फ्रान्सलाई प्रिक्वाटरफाइनलमा पराजित गरेको स्वीट्जरल्याण्ड राम्रो लयमा देखिएको छ । स्वीट्जरल्याण्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो । अर्कोतर्फ स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले पराजित गरेको थियो । दुवै खेल निर्धारित समयमा ३–३ को बराबरीमा सकिएको थियो । तर स्वीट्जरलयाण्डका कप्तान ग्रान्ट जाका लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले स्पेन विरुद्ध खेल्न पाउने छैनन् । उनको स्थानमा जाकारियाले खेल्ने सम्भावना छ ।स्वीट्जरल्याण्ड ६७ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगितामा क्वाटरफाइनल खेल्दैछ । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेन २०१६ को युरोमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकपको उपाधि जितेको थियो । युरोकपमा स्पेन र स्वीट्जरल्याण्ड पहिलो पटक खेल्न लागेका हुन् । सन् २०२० मा यूईएफए नेसन्स लिगमा दुई पटक भेट हुँदा भने स्पेनले एक खेल जितेको थियो र अर्को खेल बराबरीमा सकिएको थियो ।
विगत स्पेनको पक्षमा
सन् २००८ देखि २०१२ सम्म स्पेनको टोली निकै उत्कृष्ट थियो । त्यसबेला स्पेनले लगातार तीन ठूला उपाधि जित्यो । दुई युरो बीचमा २०१० मा विश्वकप उपाधि समेत जित्यो । तर गत विश्वकपको पहिलो खेलमै स्पेन पराजित भएको थियो । स्पेनलाई हराउने टिम अरु कोही नभएर स्वीट्जरल्याण्ड नै थियो । स्वीट्जरल्याण्डले भने त्यही एक पटक मात्र स्पेनलाई हराएको छ । स्वीट्जरल्याण्डसँग खेल्दा विगत स्पेनको पक्षमा रहेको छ । तर यसपटक युरोमा कुनै पनि टोलीलाई कमजोर आँक्न मिल्ने अवस्था छैन । अझ नकआउट चरणमा अप्रत्यासित नतिजा आइरहेको छ । जसले जसलाई पनि हराउन सक्नेछ । अहिलेसम्म यी दुई टोली २२ पटक आमनेसामने भएका छन् । जसमा स्पेनले १५ खेल जितेको छ भने स्वीट्जरल्याण्डले एक खेल मात्र जितेको छ । ६ खेल बराबरीमा सकिएको थियो ।