१६ चैत्र २०८०, शुक्रबार
खाना खाँदा किन राम्रोसँग चपाएर खानुपर्छ ?

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७७, शुक्रबार २२:००

खाना खाँदा किन राम्रोसँग चपाएर खानुपर्छ ?

धेरैजसो मानिसहरु खानेकुरा कसरी खाने ? कति खाने ? भन्ने कुरालाई नजरअन्दाज गरिदिन्छन् । अझ भनुँ, राम्रोसँग चपाएर खानुपर्छ भन्ने कुरालाई त त्यति ध्यान नै दिँदैनन् । तर पाचनक्रियाको लागि यो धेरै महत्वपूर्ण कुरा हो । जब हामी पाचनक्रियाको कुरा गर्छौं, यसको प्रसङ्ग पेटबाट सुरु हुन्छ भनेर बुझ्ने गर्छौं । तर वास्तवमा खानेकुरा पेटमा नपुग्दै पाचन क्रिया सुरु भएको मानिन्छ । जब हामी मुखबाट खाना खान सुरु गर्छौं, सँगसँगै पाचन क्रिया सुरु हुन्छ । खाना चपाउन सुरु गर्दा मुखमा र्‍यालसँगै पाचन इन्जाइम निस्केर खाना टुक्राउन सहज गर्ने गर्छ ।

योसँगै हाम्रो दाँतको संरचनाका बारेमा पनि थोरै ज्ञान राखौं । दाँतहरू चार किसिमका हुन्छन्-इन्सिजर, क्यानाइन, प्रि-मोलार र मोलार । धारिला र पातला अगाडिका दुईवटा दाँतहरु इन्सिजर हुन् । जसको काम भनेको खानालाई टोक्ने हुन्छ ।

त्यस्तै, इन्सिजर सँगै जोडिएको दाँत हुन्छ एउटा क्यानाइन जसको काम चिथोर्ने हुन्छ । अरू रहेका मोटा चेप्टा दाँतहरूको काम भनेको खाना चपाउने हो । क्यानाइन मांसहारी जनावरहरूमा विकसित हुन्छ भने हामी मानिसमा त्यति धेरै विकसित हुँदैन । यसरी दाँतको संरचना अनुसार टोक्न र चपाउनका लागि मुख्यतः बनाइएका देखिन्छन् । खानालाई तरल अवस्थासम्म पुर्‍याउन समेत र पौष्टिक तत्त्वहरू राम्रोसँग शरीरले शोषित गरोस् भन्नका लागि समेत राम्ररी चपाएर खानुपर्छ ।

आजकलको व्यस्त समाजमा मानिसहरूसँग खाना खाने पर्याप्त समय हुँदैन । त्यसकारण खाना चपाएर खानुपर्ने नियमलाई त्यति महत्व दिइँदैन । टिभी हेर्दै, मोबाइल चलाउँदै, गफ गर्दै खाने चलन समेत विकसित छ । तर खाना खाँदा शान्त ठाउँमा बसेर हातले नै खानुपर्छ । चम्चाले खाँदा अम्ल र इन्जाइमहरु धेरै स्रावित हुन नसक्ने भएकाले खाना प्रतिरुचि पनि नबढ्न सक्छ ।

अर्कोकुरा खानापछि खाने सलाद पनि राम्ररी चपाएर खानु उपयुक्त हुन्छ । सलाद राम्ररी चपाएर खाँदा, खाना खाएपछि निस्कने एसिडिटीलाई समन गर्छ। सलादमा आन्द्रा सफा गर्न चाहिने रेसा प्रशस्त हुन्छ । यसको दैनिक प्रयोगले शरीर सफा हुन्छ र हलुका पनि हुन्छ । तर सलादमा शीत गुण हुने भएकाले हतारहतार खाँदा तातो र चिसो नमिलेर पेट फुल्ने, डुम्म हुने हुनसक्छ । त्यसैले पनि पाचन क्रियालाई मजबुत बनाउनका लागि शरीरको उचित तौल तथा पोषणतत्व कायम गर्नाका लागि खानेकुरा राम्ररी चपाएर खानुपर्ने अपरिहार्य कारणहरू बुझ्न जरुरी छ ।

केही फाइदाहरू यस प्रकार छन्

१) चपाएर खानुले मासिनको स्वस्थ तौल कायम राख्न मद्दत पुग्छ । जति लामो समय मानिसले खानेकुरा चपाइराख्छ, त्यतिकै धेरै समय खान सक्न लाग्छ। जो मान्छे ढिलो खान्छन्, तिनीहरूले थोरै खान्छन् र खानासँगै हाम्रो मस्तिष्कमा एउटा म्यासेज प्रवाह भइरहेको हुन्छ । तर यदि हामी हतारमा खाना खाइरहेका हुन्छौँ भने खाना सकिएपछि पनि हाम्रो मस्तिष्कले हामी अघाएको म्यासेज प्राप्त गर्न सक्दैन । जसका कारण हामीले आवश्यकताभन्दा बढी खाना खाँदै जान्छौँ र यसबाट शरीरमा क्यालोरीको वृद्धि भई तौल बढ्ने अधिक सम्भावना हुन्छ।

२) राम्ररी चपाइएको खाना पचाउन कम शक्तिको प्रयोग हुन्छ । नत्र खाना पचाउन हाम्रो शरीरलाई धेरै शक्तिको आवश्यकता पर्छ । यदि खानेकुरा राम्रोसँग चपाइएन भने हाम्रो पाचन प्रणालीलाई भार ज्यादा पर्ने गर्छ र खाना टुक्राउन बढी शक्ति खर्च हुन्छ । राम्रोसँग चपाइएको खानेकुरा सम्पूर्ण पाचन अङ्गमा सजिलै विस्तार हुन सक्छ ।

३) कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन्स, क्याल्सियम, मिनिरल्स आदिको अवशोषणलाई वृद्धि गर्न जब हामीले खानेकुरालाई राम्रोसँग चपाएर खान्छौँ, खाना मसिनो गरी टुक्रिन्छ र यी तत्वहरूलाई आन्द्राले सहज रूपले अवशोषण गर्छ । खाना चपाउँदै गर्दा हाम्रो पाचन प्रणालीले खाना आगमनको पूर्वसूचना प्राप्त गर्छ । जसले गर्दा पाचन प्रणालीले पेटभित्र एक किसिमको एसिड बनाउँछ र पाचनक्रियालाई सहज बनाउँछ।

४) राम्ररी खाना चपाउँदा हाम्रो दाँत, गिजा, जिब्रो पनि स्वस्थ रहन सक्छ । यसैगरी, दाँतलाई अड्याउने हड्डी पनि मजबुत हुन्छ । खाना चपाउँदा निस्कने र्‍याल र इन्जाइमले पनि मुखमा हुने किटाणुलाई सफा गर्छ । त्यसरी नै दाँतमा अड्केका खानाका टुक्रालाई हटाएर मुखलाई शुद्ध र सुगन्धित राख्छ । जब मुख ब्याक्टेरियामुक्त हुन्छन्, दाँत सड्ने, गिजा दुख्ने जस्ता समस्या पनि रहँदैनन् ।

५) जब हामी खानेकुरा राम्ररी चपाउँदैनौं । पेटमा खानाका ठूला टुक्राहरू रहन्छन्, जसले गर्दा सहज रूपमा पाचन क्रिया हुन गाह्रो हुन्छ । जब खाना राम्रोसँग टुक्रिँदैन, पाचन पर्याप्त हुँदैन र नपचेको खानाबाट अनावश्यक ब्याक्टेरिया पैदा हुन गई अपच,अजीर्ण, आम, कब्जियत, ग्यास बढ्ने जस्ता समस्याहरू देखिन्छन् ।

६) सबैभन्दा महत्वपूर्ण कुरो, चपाएर खानाले खानाको स्वादलाई बढाउँछ । जब हामी हतारमा खाना खान्छौँ, त्यो पनि चम्चाको प्रयोग गरेर खानाको स्वाद राम्रोसँग महसुस हुँदैन वा हामीलाई भोक लागिरहन्छ । त्यसैले खाना खाने समय हतार गर्नु हुँदैन र आरामका साथ स्वाद लिएर खानुपर्छ ।

हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हुन्छ र मिलाएर खान नजाने खाना नै विष बन्छ । हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा र कसरी खायौं भन्नेमा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ। शरीरमा हुने अधिकांश स्वास्थ्य समस्या खान र पिउन नजान्दा हुन्छ। त्यसैले सधैं उचित खाना खानु पर्छ । हुन त खाना कति पटक चपाउने वा कसरी खाने भन्ने कुनै फर्मुला त हुँदैन । तर पनि खानाको किसिम र बनावट हेरी धेरै समय लगाएर राम्ररी चपाएर खानु नै फाइदाजनक हुन्छ । जबसम्म खाने कुरा चपाएर झोलजस्तै हुँदैन, तबसम्म चपाइराख्नुपर्छ र बिस्तारै यसलाई नै मानिसको बानीमा परिणत गर्दै लैजानुपर्छ। हतारमा खाएर पछि स्वास्थ्यमा प्रतिकूलता आएपछि पछुताउनुभन्दा खानालाई बिस्तारै रमाएर स्वादसँग खाऔं ।

Nabintech