१२ बैशाख २०८१, बुधबार
एन्फा प्रेसिडेन्ट लिग : लेकाली युवा क्लब र सैनिक फुटबल क्लबले खेले बराबरी

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७७, शुक्रबार १९:५२

एन्फा प्रेसिडेन्ट लिग : लेकाली युवा क्लब र सैनिक फुटबल क्लबले खेले बराबरी

सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

शुक्रबार भएको खेलमा लेकाली र सैनिकले १(१ को बराबरी खेलेको हो । बराबरीपछि दुवै टोलीले लिगमा पहिलो एक अंक जोड्दै खाता खोलेका छन ।

नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लेकालीको तर्फबाट भुपेन्द्र शाहीले ४७औं मिनेटमा बराबरी गोल फर्काए ।

लेकाली युवा क्लबका गोलकिपर पुजन होना म्यान अफ द म्याचबाट पुरस्कृत भए । खेलमा होनाले सैनिकका पुजन उपरकोटीको पेनाल्टी प्रहार रोकेका थिए ।

झापा प्रशिक्षक प्रवेश कटुवालले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खेल बराबरी भएको बताए । ‘सुरुमा आज गोल गर्न हामीले धेरै समय पर्खनु पर्‍यो । खेलाडी घाइते भएका बेला हामीले गोलको सामना गर्नुपर्‍यो । त्यो भन्दा आज हाम्रो लागि पेनाल्टीमा गोल गर्न नसक्नु अर्को गल्ती भयो ।’

दोस्रो हाफमा पुजन उपरकोटीको पेनाल्टी प्रहारलाई लेकालीका गोलकिपर उज्वल होनाले रोक्न सफल भएका थिए । खेलाडीहरु अन्य प्रतियोगिताको व्यस्त भएर पनि समस्या भएको प्रशिक्षक कटुवालले बताए ।

लेकालीका प्रशिक्षक युवराज शाहीले टोलीको समन्वय मिल्दै गएकोले खेलमा सुधार हुँदै गएको बताए । ‘सूरुमा टिमका खेलाडीबिच एक अर्कामा राम्ररी परिचय पनि थिएन । कसले कस्तो खेल्छ भन्ने थाहा थिएन । पहिलो खेलमा धेरै गोलको सामना गरेपछि हामी रक्षात्मक रणनितिमा खेल्ने योजनामा थियौं । जुन सफल पनि भयो ।’

लेकालीका कप्तान संगम शाहीले टिमको समन्वय मिल्दै गएकोले खेल सुधार हुँदै गएको बताए । शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच पहिलो खेल हुनेछ । दोस्रो खेल प्रदेश नम्बर-२ को मनकामना युवा क्लब रौतहट र बागमति प्रदेशको धादिङ समाजबीच प्रतिस्पर्धा हुनेछ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

Nabintech