दाङ: संघीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा सोमाबार एक कार्यक्रमबीच ‘राप्ती करिडोर’ आयोजना शिलान्यास गरेका छन्। करिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रूपमा रहने बताए।
दाङ प्रशस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको हुँदा राप्ती करिडोरका माध्यमबाट विकासको अरू पक्षलाई पनि जोड्ने सकिने धारणा उनले राखे।
राप्ती करिडोरअन्तर्गत दाङको भालुवाङ क्षेत्रदेखि बाँकेको सीमा क्षेत्रसम्म राप्ती नदीको दुवै किनारलाई नदी उकास (तटबन्ध) गरी बृहत् योजनाका साथ आर्थिक तथा सहरी विकासको नगर बनाउने लक्ष्य रहेको उनले बताए।
राप्ती नदी सभ्यतामा आधारित राप्ती करिडोर आयोजनामा नदी उकास भएपछि हजारौं बिघा जमिन प्रयोगमा आउने छ। बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएको उक्त कामका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष विनियोजन भइसकेको मन्त्री चौधरीको भनाइ छ।




