८ आश्विन २०८१, मंगलवार
कागबेनी र मुक्तिनाथमा श्राद्ध गर्नेको घुइँचो

सोह्र श्राद्ध सुरु भएसँगै दैनिक जसो भिड बढ्दै गइरहेको मुक्तिनाथ मन्दिरका पुजारी बालकृष्ण सुवेदीले बताए


  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७९, बुधबार ०९:५८

पर्वत : सोह्र श्राद्ध चलिरहँदा पवित्र धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर र कागबेनीमा श्रद्धालुको घुइँचो लागेको छ। सोह्र श्राद्ध सुरु भएसँगै दैनिक जसो भिड बढ्दै गइरहेको मुक्तिनाथ मन्दिरका पुजारी बालकृष्ण सुवेदीले बताए। ‘बिहान सबेरैबाट श्राद्ध गर्नेहरूको घुइँचो हुन्छ। अहिले सुरु सुरुका श्राद्ध भएका कारण दिनमा लगभग पाँच सय जति श्राद्ध भइरहेका छन्। अब बिस्तारै बढ्दै जान्छन्,’ उनले भने, ‘एक पटक यहाँ आएर दिए उनीहरूको आत्मा स्वर्गमा जान्छ भन्ने विश्वास छ।’

श्राद्धका कारण ब्राह्मणहरूलाई पनि भ्याइभ्याइ भएको पुजारी सुवेदीले बताए। कागबेनीमा नै उपलब्ध भएका पण्डितहरूबाट श्राद्ध गर्न भनेको समयमा पालो नपाउने भएका कारण श्राद्धका लागि जाने कतिपयले आफूसँगै ब्राह्मण पनि लिएर जाने गरेका छन्।

मुक्तिनाथ मन्दिरको दर्शन सहित पर्यटकीय ठाउँहरूको अवलोकनका लागि पुग्ने सबै जना कागबेनीमा नजाने भए पनि त्यहाँ पुगेका सबै श्रद्धालु मुक्तिनाथ मन्दिर पुग्ने गरेका छन्।

न जाडो न गर्मी हुने र वर्षा रोकिएका वेला मुस्ताङ भ्रमणको उपयुक्त समय पनि हो। मुस्ताङका रमणीय ठाउँहरूको दृश्यावलोकन गर्ने इच्छा राखेकाहरूले श्राद्धसँगै भ्रमणको काम पनि यही बेलामा गर्ने भएका कारण होटल पनि पाहुनाले भरिएको स्थानीय होटेल व्यवसायी बताउँछन्।

कागबेनीमा नै होटेल सञ्चालन गर्दै आइरहेको छेप्तेन गुरुङले वर्षा रोकिनु र सोह्र श्राद्ध सुरु हुनुले हरेक दिन होटलहरु भरिभराउ हुने गरेको बताए। एक दिनमै पुगेर पिण्डदान गर्न नभ्याइने भएका कारण अघिल्लै दिनमा पुगेर बास बस्नुपर्ने अवस्था रहेका कारण पनि होटल भरिभराउ भएका उनले बताए।

‘अहिले होटल पनि राम्रो बुक भइरहेका छन्। कोहीले बास बस्न नपाइने चिन्ताका कारण अग्रिम बुकिङ गरेर पनि आउने गर्नु भएको छ। तिथिमा पिण्डदान गरेर उपल्लो मुस्ताङसम्म घुम्न जानेहरू पनि धेरै हुनुहुन्छ,’ गुरुङ भन्छन्, ‘फेरि मुस्ताङ घुम्ने सिजन पनि यही नै राम्रो हो। अब आन्तरिक र बाह्य दुवै  पर्यटकको वृद्धि हुन्छ। मौसम सफा भएपछि जहाजबाट आउनेहरूको संख्या पनि धेरै हुन्छ।’

 

Nabintech