१६ चैत्र २०८०, शुक्रबार
नवौं राष्ट्रिय खेलकुद : पैसा नभएको खेल मन्त्रीकै भनाई, सामग्रीका लागि चन्दा माग, छनोटमा आएका खेलाडीले पाएनन् भत्ता

‘खेल भावना विपरित खेल खेलाइरहेको छ, रकम अभावले टिमको कोटा घटाइयो


  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७९, बुधबार १०:३१

पोखरा : नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको छ गण्डकी प्रदेश। कोरोनाले पटकपटक सर्दै आएको कार्यक्रम असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि तय भएको छ। कार्यक्रम तय भएसँगै भदौ ५ गते युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रमुख आतिथ्यमा पोखरा रंगशालामा खेलकुद प्रतियोगिता कार्यकारी समितिको सचिवालय उद्घाटन भयो। उद्घाटनमा पुगेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले खेलकुद प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए।

संघका मन्त्री, प्रदेश मुख्यमन्त्री र पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपस्थितिमा सचिवालयको भव्य रुपमा उद्घाटन भयो। तर, त्यसको ठिक १० दिनपछि भदौ १५ गते गण्डकीका युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले पत्रकार सम्मेलन राख्दै खेलकुद प्रतियोगितको लागि बजेट नभएको बताए। ‘पैसा नै नभएपछि खेल कसरी हुन्छ? मैले त यो राष्ट्रिय खेलकुद हुँदैन भन्दै आएको छु। कसैले वास्ता गरेन। हामीले मागेको एक रुपैंया आएन,’ मन्त्री मनाङेले भनेका थिए। मन्त्रीका अनुसार माग गरेको ७ करोड रुपैयाँमा जम्मा ३ करोडमात्र रकम आएको थियो।

मन्त्रीले सुनाएको आशंकालाई थप प्रष्टायो मंगलवार कास्की जिल्ला फेन्सिङ एसोसियसनले सुरु गरेको चन्दा संकलन कार्यक्रमले। जिल्ला फेन्सिङ एसोसियसनका अध्यक्ष विजय शाहीले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै खेलाडीका लागि आवश्यक पर्ने साम्रागी खरिदका लागि रकम चाहिएको भन्दै चन्दा संकलन सुरु गरेका हुन्। उनका अनुसार फेन्सिङका लागि आवश्यक सामान नेपालमा पाईँदैन। भारतबाट सामान मगाउनुपर्ने हुन्छ। जसका लागि समय लाग्छ। प्रशिक्षणको समयमा सामान नआइपुग्दा तयारीमा असर पर्ने र जीत निकाल्न मुश्किल हुने उनको भनाइ छ।

‘प्रदेशको गल्ती भनेर औंल्याउन खोजेको होइन। मर्नुभन्दा बौलाउन जाति भन्छ नि। मसँग उपाय नै भएन। मेरो बच्चाहरुसँग खेल साम्रागी छैन। चेष्ट प्रोटेक्टर नभएर कति बच्चाहरु घाउ चोट लागिसकेको छ। त्यो मैले उहाँहरुलार्ई फोटो पनि पठाएको छु,’ शाहीले भने, ‘मेरो खेलसँग सम्बन्धित सामान नेपालमा किन्न पनि पाईदैन भनेर थाहा छ। समयमा सामान आइपुग्यो भने पदकको आशा गर्न सक्छौं भन्छु। अकास्मत म्याचको दिनमा आएर इलेक्ट्रिक डिभाइस ल्याएर दिए हामीलाई स्कोर ल्याउन गाह्रो हुन्छ।’ प्रदेश खेलकुद परिषद्बाट रकम आएर सामान पाउने आशा मरेकै कारण चन्दा संकलन गरेको बताउँछन् उनी।

‘अरुले जस्तो वाइयात पैसा पनि मागेको छैन। एकदम आधारभूत नभई नहुने सामान माग्दा पनि आजसम्म सुनुवाइ भएन। परिषद्बाट पैसा आएर सामान किनौंला भन्ने आशा मर्‍यो। हामीले सामान भारतबाट मगाउने हो। सामान आउन समय लाग्छ। सबै विचार गर्दा मसँग उपाय भएन। पैसा उनीहरुले कहिले दिन्छ आशा पनि छैन। हामीसँग कोषमा एक रुपैंया पनि बजेट छैन,’ उनले भने।

खेल साम्रागीका लागि पैसा समस्या होइन : प्रदेश खेलकुद परिषद्

रकम नपाएर खेलकुद साम्रागी ल्याउन समस्या भएको भन्दै फेन्सिङका अध्यक्ष शाहीले चन्दा संकलन कार्यक्रम सुरु गरेपनि रकमको समस्या नरहेको दाबी गर्छन् प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ। उनका अनुसार प्रदेशले संघसँग बाँकी केही बजेट मागिरहेपनि खेल साम्रागी खरिदका लागि रकम समस्या छैन।

फेन्सिङ खेलका लागि आवश्य साम्रागी नेपालमा नपाइएको कारण समस्या भएको उनको भनाइ छ। ‘केही बजेटहरु चाहिँ हामीले मागिरहेका छौं। तर, खेल साम्रागी नेपाली बजारमा नपाउने अनि भारतमा पाउने भन्दै कहाँ पाउँछ पत्ता लगाउनु हामी किन्दिन्छौं भन्दा खेरि उनीहरुले ल्याउन सकेनन्। पैसा उठाउँदैमा यहाँ पाउने सामान होइन। बाहिरबाट खरिद गरेर ल्याउने प्रोसेस नै लामो छ। पैसाको कारणले रोकिएको चाहिँ होइन,’ उनले भने।

सम्बन्धित खेल संघले समयमा खेल साम्रागीका विषयमा जानकारी नदिएर पनि समस्या आएको बताउँछन् सदस्य सचिव गुरुङ।‘सामान कहाँ पाइने हो? सानो–तिनो दूई चार/लाखको समस्या होइन। संघसँग पनि सोधेको त्यो सामान छैन। बजारमा पनि छैन। कहाँ पाउँछ भन्दा भारतमा पाउँछ भनेपछि मगाउनका लागि समयमा भन्नुपर्थ्यो गर्नुपर्थ्यो,’ उनले भने।

छनोटमा आएका खेलाडीले पाएनन् रकम

नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद परिषद्ले प्रतियोगिताका लागि दूई चरणमा खेलाडी छनोट प्रतियोगिता आयोजना गरेको थियो। पहिलो चरण भदौ ३ गतेदेखि सुरु गरेको छनोट प्रतियोगिता भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरेको थियो। परिषद्ले विशेष प्रशिक्षणसहित पनि खेलाडीहरु छनोट कार्यक्रम राखेको थियो।

विशेष प्रशिक्षणमा बसेर छनोटमा आएका खेलाडी भने अझैसम्म पाउनुपर्ने रकम पाएका छैन। फेन्सिङका अध्यक्ष शाहीका अनुसार खेलाडीले पाउनुपर्ने रकम अझै नपाएका हुन्।

‘विशेष छनोट गर्दा हाजिरी गर्न लगाउनुभाथ्यो। हाजिरीको रकम यसो बच्चाहरुलाई बाढी दिउ भनेर दिनै जसो गइराछु त्यसको पनि रकम पाएको छैन। खेलाडी छनोटमा असफल भएका सबै घर फर्किसके,’ उनले भने, ‘नियमअनुसार जब खेलाडीहरु छनोटमा असफल भए त्यसको भोलिपल्ट हातहातमा खाम थमाइदिनु पर्थ्यो ल है तिमीहरुले राम्रो गर्यौ अर्कोपल्ट कोसिस गर भन्दै। तर, अहिलेसम्म वास्ता छैन।’

यता प्रदेश परिषद् पनि छनोटमा आएका खेलाडीहरुले पाउनुपर्ने रकम नपाएको गुनासो आइरहेको स्विकार गर्छ। परिषद्का अनुसार खेलाडीले रकम नपाएको गुनासो विशेषगरी कास्की जिल्लाबाट नै आइरहेको छ। तर खेलाडीले पाउनुपर्ने रकम जिल्ला खेलकुद संघलाई गइसकेको बताउँछन् परिषद्का सचिव गुरुङ।

‘प्रदेशले हरेक जिल्लालाई वितरण गरेको छ पैसा इनटाइम। यो गुनासो बढी कास्कीकै आएको छ। यो किन भन्दा चाहिँ अरुले जिल्लाले समयमै पोशाक बनाइदिएको छ कास्कीकै मान्छेले त्यो दिन सकेको छैन। त्यसकारणले कास्कीको खेलाडी सफरिङ भयो,’ सचिव गुरुङ भने, ‘यो कास्की जिल्ला खेलकुद संघको जिम्मेवारीको कुरा हो। उनीहरुको व्यवस्था चुस्त हुनुपर्छ प्रदेशले अरु जिल्लालाई दिए सरहको समयमै दिएको छ। दिएको पैसाको बिल भरपाई हुनेबित्तिकै फेरि दोस्रो किस्ता दिएको छ। यो जिल्ला खेलकुदको कुरा हो।’

छनोटमा आएका खेलाडीका लागि प्रदेश परिषद्ले जिल्ला खेलकुद संघलाई १० लाख रुपैंया दिएको थियो। जिल्ला खेलकुद संघका एक पदाधिकारीका अनुसार परिष्दले पठाएको सो रकम खेलाडीको पोशाकमा खर्चिन भनेको थियो। त्यसै अनुरुप खेलाडीको पोशाकमा सात लाख रकम खर्च भएको ती पदाधिकारी बताउँछन्।

‘१० लाख दिएको थियो। त्यसले ट्याक सुटलाई यो यो गर भनेर दियो अहिले त्यसबाट सात लाख रुपैंया खर्च भयो। बाँकी सेलेक्सनमा लागेको खर्चका लागि आएका खेलाडीलाई रकम तिरन्तार भयो अब अरु रकम हुँदै छ। क्रमबद्ध आउँदै छ। पैसै छैन। केही छैन। खेलाडी दिने भत्ता छैन। अस्तव्यस्त छ,’ ती पदाधिकारीले भने।

रकम अभावले टिमको कोटा घटाइयो

राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हुने प्रत्येक खेलका लागि टिमको कोटा छुट्टाएको छ। जसमा फुटबल खेलका लागि राखेपले २० जनाको कोटा दिएको छ। तर, यता प्रदेश परिषद्ले खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक गरि जम्मा १६ जनाको कोटा राखेको छ। कास्की जिल्ला फुटबल संघको पूर्वसचिव सुदर्शन रञ्जितले प्रदेश परिषद्ले खेल भावना विपरीत खेल खेलाउन लागेको धारणा राख्छन्।

‘खेल भावना विपरित खेल खेलाइरहेको छ। २२ जना खेलाडी चाहिन्छ। दूईजना कोच साइड कोच चाहिन्छ टिम मेनेजर चाहिन्छ। तर यहाँ केन्द्रले कोटा राखेको चाहिँ २० जना त्यसमा पनि यताबाट परिषद्ले जम्मा १६ वटा कोटा दियो,’ उनले गुनासो पोखे, ‘त्यसमा पनि एकजना टिम कोच र मेनेजर गर्दा खेलाडी १४ जना भयो। १४ जनामा ११ जना खेल्ने भयो। त्यसमा तीनजना बाँकी भयो। यसमा पनि अझ महिलाको छुटै प्रब्लम हुन्छ यसले गर्दा खेलाडी पनि भएन। यो त खेल भावना विपरित छनोट खेल खेलायो।’

प्रदेशले परिषद्ले टिमको कोटा कम राख्नुको कारण रकम अभाव भएको औंल्याउँछन् उनी। ‘केन्द्रले २० तोक्यो यहाँकोले १६ तोक्यो। त्यो किन तोक्यो भन्दा पैसाको कमी भएर बरु खेलाउँदै नखेलाए हुन्छ नि। खेल भावना विपरीत चाहिँ खेलाउनु भएन खेलकै मर्म गयो,’ उनले गुनासो पोखे।

Nabintech