६ आश्विन २०८१, आईतवार
भीम रावलद्वारा अछाम पहिरोबारे सरकारको ध्यानाकर्षण

अहिलेसम्म प्राप्त सूचनाअनुसार १६ जनाभन्दा बढीको हताहत भएको खवर छ


  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार १४:४६

काठमाडौं : नेकपा (एमाले)का नेता एवम् पूर्व-उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जनाभन्दा बढीको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन्।

त्यस अवसरमा उनले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकोप्टर परिचालन गरी घाइतेहरूको उपचारका लागि चिकित्सकहरूको टोली परिचालन गर्न सरकारलाई सचेत गराए।

नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भीर हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘यो अविरल वर्षा र त्यसपछि आएको पहिरोको कारणले गर्दा अछाम जिल्लाको कमल बजार नगरपालिका, गाउँपालिका धेरै ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म प्राप्त सूचनाअनुसार १६ जनाभन्दा बढीको हताहत भएको खवर छ। स्थानीय प्रशासनका अनुसार र, थुप्रै घरहरु पहिरोले पुरिएका छन्। कतिपय व्यक्तिहरु अहिलेसम्म पहिरोमै पुरिएको अवस्था छ। र, त्यहाँ पुग्नका लागि स्थानीय प्रशासन सशष्त्र प्रहरीहरु, नेपाल प्रहरीलाई त्यहाँ पुग्नका लागि पहिरोले बाटो अवरुद्ध छ। अहिले त्यहाँ लत्ताकपडा, भाडाकुँडा र घाईतेहरुको औषधिउपचारको अत्यन्त ठूलो खाँचो छ। त्यसका लागि म पुनः त्यहाँ जुन प्रकारको प्राकृतिक विपत्तिबारे हेलिकप्टरबाट चिकित्सकहरुको टोली त्यहाँ पठाइयोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु।’

नेता रावलले पहिरोको कारण बाटो अवरुद्ध हुँदा उद्धारका लागि गएका सुरक्षाकर्मीहरु समेत घटनास्थल अझै पुग्न नसकेको उल्लेख गर्दै तत्काल सेनाको हेलिकोप्टर परिचालन गर्न पनि सरकारसँग अनुरोध गरे।

Nabintech