६ आश्विन २०८१, आईतवार
बाढीबाट बर्दियाका बस्ती डुबानमा, राप्ती नदीमा खतरा

बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ


  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार १७:११

बर्दिया : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती ढुवानमा परेका छन । बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका छन । जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए ।

नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रजिअ बास्तोलाले जानकारी दिए । बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ । बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ । ५ दशमलव ५० चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ । बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा दुई सय ६७ दशमलव ४ मिलीमिटर वर्षा मापन गरिएको छ ।

राप्ती नदीले खतराको तह नाघ्यो, सतर्कता अपनाउन आग्रह

बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ । अविरल वर्षाका कारण कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।दिउँसो पौने १ कुसुममा नदीको सतह ६.१७ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । पहाडी जिल्लामा अत्यधिक वर्षा भएका कारण राप्ती नदीमा पानीको सतह बढेको हो ।

राप्ती नदीले खतराको तह पार गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ ।

Nabintech