इतिहासको कालखण्डमा कहिल्यै गुलाम नभएको तर देशभक्तिको अबशान पछि गुलामीबाट कहिल्यै मुक्त नभएका मुर्कटाहरुको दब्दबा रहेको देश हो नेपाल। यहाँ कयौ बंशहरुले हैकम चलाए । कयौं कथित प्रजातान्त्रिकहरुले सत्ता चलाए। कथित गणतन्त्रका मसियाहरुले राज्य चलाए । युरोप अमेरिका भन्दा उन्नत रामराज्य बनाउने झुटा आश्वासनको सहारामा कयौंले राज्य ढुकुटीमा ब्रम्हलुट मच्चाए । ब्यक्तिगत लाभ र हानीको जुवामा देशलाई दाउमा लगाए। यहाँ कयौं ले कयौं वहानामा सत्ता चलाए । विभिन्न प्रलोभनमा देशको जवानी रित्याए । खै जनताको जीवनस्तरमा आएको परिवर्तन ? बिदेशका चोक र गल्लीहरुमा नेपाली जवानी पोखिएको छ। बिदेशी महाजनको सेवा गर्दै जिन्दगी रित्तिएको छ। कथित शिर्ष नेताका बालहठ लिएर, कथित युवाका खलाती भाषण लिएर फेरि आउदैछौ झुटका पुलिंदा बोकेर । तिमीले देश बनाउने कुरा गफै त हो नेता ज्यु।
कुराले चिउरा भिज्ने भए, गफैले देश बन्ने भए आज नेपालले मिसन मंगलको नेतृत्व गर्थ्यो। संसारको सर्बशक्तिमान राष्ट्रको रबाफ देखाउथ्यो । कर्मचारीको ज्यालाको लागि ऋण र अनुदानको भिक्षा माग्न कटौरी थाप्नु पर्दैनथ्यो। म कसरी अबिश्वास गरु बारम्बारको प्रयोगबाट सत्य सावित भएको तथ्यलाई । तिमी त झुट्को सहारामा लुटको खेती गर्ने बिश्वासघाती हौ। शालिक ढाल्दा देश उठ्छ भन्यौ शालिक भत्कायौ।
केही मुठ्ठीभर समान्तको कारणले देश बनेन भन्यौ सफाया गर्यौ । बुर्जुवा शिक्षाले देश डुवायो भन्यौ विद्यालयका पर्खाल भत्कायौ । कलिला मस्तिष्कमा सुनौलो बिहानीको सपना भरेर युद्ध मैदानमा लगायौ । एक पटक हैन अनेक पटक। कहिल्यै राणाको विरुद्ध त कहिल्यै पन्चायतको विरुद्ध, कहिल्यै बिस्तारवाद त कहिल्यै साम्राज्यवादका विरुद्ध । हामी सत्तामा जादा देश जुरुक्क उठ्छ भन्यौ सत्तामा पुर्यायौ । खै तिम्रा ती क्रान्तिकारी भाषणहरुले देश बनेन। तिम्रो बारम्बारको सत्ता आरोहणले देश बनेन । न कतै देश बन्ने संकेत देखिन्छ । अझै कुन मुखले भन्छौ नेता ज्यु ” म देश बनाउछु।”
हिजो विज्ञानमा आधारित जिवनोपयोगी शिक्षाका आदर्श छट्यौ आज तिमिले समान्ती सत्ताका मसिया मानेका राजा महेन्द्रले बनाइदिएको शिक्षा ऐनको घोडामा देशको शिक्षा प्रणाली सवार छ। तपाईंलाई कस्ले रोक्यो नेता ज्यु तपाईंको आफनै एजेन्डा स्थापित गर्नलाई। कि आफ्ना सन्तानहरु साम्राज्यवादीका देशमा अध्ययन गर्ने हुनाले तपाईलाई आवश्यकता परेन । तिमी कति स्वाभिमानी छौ मलाई थाहा छैन । हिजो तिमीले बिस्तारवादी र साम्राज्यवादी दर्ज गरिएका देशमा आफ्नै सन्तान एबम कयौ नेपाली आमाका सन्तानहरु लामलागेर अवसरको खोजीमा पलायन हुँदा तिम्रो आत्मासम्मानमा ठेस पुगेको छैन ? खै के भयो तिमीबाट नेपाल देशको उन्नतिका खातिर ? कुराको खेती र दलालहरु सगको पिरती बाहेक के भयो तिमीबाट?
सम्पूर्ण राज्य सम्यान्त्र कमिसन र अनियमिततामा लिप्त छ्न। राज्य सञ्चालनका सबै अङ्गहरु निष्कम्प भैसकेका छन ।खै तिमीले कहाँनेर गर्यौ सुधारको प्रयास? हो सुधार भएकोछ तिम्रा आफन्त र नातागोतामा। जनावरको मलमुत्रले बाली सप्रे जस्तै तिनीहरू सप्रेका छन । विकसित भएका छन । तिमीमा पनि कायापलट भएको छ। हिजो शासित थियौ आज शासक भएकाछौ। हामी जनता पनि यो मामिलामा दोषी छौ । कुकुरको पुच्छर सोझो पार्न बारम्बार ढुंग्रोमा हालिउ । अब पनि गल्ती गर्ने छुट हामी जनतालाई पनि छैन । नेपालआमाको उत्थानका खातिर अब एकपटक सोच्नेबेला आएकोछ। बिद्रोहका स्वरहरु यताकता स्थानीय निर्वाचन देखिनै देखिन थालेका छ्न। देशको बृहत्तर उन्नतिका लागि गम्भीर रूपमा सोच्नेबेला आएको छ। मङ्सिर चारलाई देशको मुहार फेर्ने दिनको शुरुआतको रुपमा सदुपयोग गर्नुछ ।