आम निर्वाचन सङ्घारमा आउँदै गर्दा देशको मुख्य राजनीतिक शक्ति नेकपा(एमाले)मा देशभर अभूतपूर्व उभार देखा परेको छ । स्थानीय चुनावपछि एमालेले गरेको राष्ट्रव्यापी सङ्गठन विस्तार, सुदृढीकरण र पुनर्ताजगीका कारण एमाले त्यसै मजबुत छँदै थियो, देशभरमा अरू पार्टीबाट प्रवेश नै गर्न नभ्याउने गरी एमालेमा लामबद्ध नेता कार्यकर्ताले एमालेमा अभूतपूर्व लहरको सिर्जना भएको छ ।
विविध भ्रमवश विगतमा माधव समूहमा लागेका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किसकेका छन् । गठबन्धनको माध्यमबाट लाभको पदमा भएका केहीबाहेक माधव समूहमा अब कोही छैन । पुरापुर माधव-झलनाथको मैदान खाली भएको छ । उनले गठबन्धनबाट केही सिट पाइहाले पनि कसैले जित्ने अवस्था छैन । नेपाली कांग्रेसले अघोर माया गरेको खण्डमा कोही झुक्किएर आगामी संसद्मा पुग्ला, तर राष्ट्रिय पार्टी बन्ने अवस्था अब माधव समूहमा अब रहेन । एमालेलाई धुलो चटाउने हुङ्कारका साथ पार्टी चोइटाएको एक वर्षमै यसरी मटिया मेट होइएला भन्ने कल्पना माधव-झलनाथले शायदै गरेका थिए । अब प्रष्टसँग भन्न सकिन्छ, चुनावसम्म पुग्दा माधव समूहको झन्डा उचाल्ने कोही बाँकी रहने छैन ।
माधव नेपालहरू एमालेसँग कुनै वैचारिक भिन्नताको कारण भिन्न भएका थिएनन् । नेपालको आमूल परिवर्तनको दिशामा मुलुकलाई ओलीले डोर्याउन थालेपछि, नेपालको विस्तारित नक्सा प्रचलनमा ल्याएपछि,परम्परादेखि कायम रहेको भारतीय हस्तक्षेप र प्रभुत्वसँग ओली नझुकेपछि, ओलीको राजनीतिक उचाइसँग ईर्ष्या लागेर उनले एमाले चोइटाएका थिए । तर आफ्नो ऊर्जाशील जीवन एमाले निर्माणमा खर्चिएका र माधव नेपालको कारण बाटैमा अलपत्र परेका प्राय सबै कार्यकर्ता एमालेमा फर्किसकेका छन् । एक वर्ष अघि एमाले चोइटिनु र अहिले पुनः एमाले सग्लो बन्नुबाट एउटा गम्भीर पाठ सिक्ने मौका मिलेको छ । त्यो हो, सबै नेताले सही मार्गमा डोर्याउँदा रहेनछन् । बरु मति भ्रष्ट भएका माधव नेपालजस्ता नेताले सयौँ नेता र हजारौँ कार्यकर्ताको राजनीतिक जीवनलाई सङ्घर्ष र बलिदानलाई वलिवेदीमा चढाउँदा रहेछन् । प्रचण्डजस्ता नेताले जनतालाई मृगमरिचिका जस्तो भ्रम छर्न सक्दा रहेछन् ।
एमालेको शक्ति ह्वात्तै बढेपछि र प्रचण्ड र माधव नेपालको शक्ति दिन प्रतिदिन खस्कँदै गएको देखेपछि सबभन्दा बढी नेपाली कांग्रेस चिन्तित देखिन थालेको छ । माधव र प्रचण्डलाई शिखण्डी बनाएर एमालेसँग चुनावी युद्ध गर्ने तयारी गरेको कांग्रेस समेत तिलमिलाउन थालेको छ । र, कांग्रेसका नेता भन्न थालेका छन्- गठबन्धनले एमालेसँग मुकाबिला गर्न सक्दैन ।
गठबन्धन एमालेसँग डराउनुमा अर्को पनि कारण छ । त्यो हो(पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका तराई-मधेसका जिल्लामा एमालेको पकड इतिहासमै अहिले जतिको बलियो थिएन । बढी जनसङ्ख्या र सिट सङ्ख्या भएका ती जिल्लामा एमालेको पकड देखेर गठबन्धन बिलखबन्दमा परेको छ । एमालेजस्तो राष्ट्रिय शक्तिलाई साथ दिए मात्र समग्र मदेशको हित हुने निष्कर्षमा मधेसी जनता पुग्नु नै गठबन्धनको सबभन्दा टाउको दुखाइको विषय बनेको छ । कालान्तरसम्म देशलाई अहित गर्ने नागरिकता विधेयकमा बलमिचाइँ गरेर मधेसी जनतालाई पुनः भ्रमित पार्ने गठबन्धन प्रयासलाई राष्ट्रपतिज्यूले ब्रेक लगाइदिएपछि त गठबन्धन अजेण्डा विहीन बनेको छ । निर्वाचन जित्ने गठबन्धनको कुनै आधार निर्माण भएको छैन । गठबन्धन त मक्किएको रूखजस्तो हालतमा पुगेको छ ।
मङ्सिर ४ गतेको निर्वाचनमार्फत बहुमतका साथ सिंहदरबार प्रवेश गर्नबाट एमालेलाई रोक्नुबाहेक गठबन्धन दलको कुनै उद्देश्य छैन । यस पटक एमालेले बहुमत ल्यायो भने देशको कायापलट गर्छ र आफ्नो राजनीतिक गर्ने स्पेस नै रहँदैन भन्नेमा गठबन्धनका सबै दलहरू त्राहिमाम् छन् । पटक(पटक बहुमतसहित सत्तामा पुग्दा पनि देश र जनताको पक्षमा माखो मार्न नसक्ने, देशका खोलानाला कहिले बाँध बनाउने नाउँमा कहिले बिजुली निकाल्ने नाउँमा विदेशीलाई सुम्पने र उद्योगधन्दा कौडीको भाउमा बेच्ने नेपाली कांग्रेसको पछि लागेका जातिवादी(मदेशवादी(अवसरवादी पार्टीलाई यस पटक नेपाली जनताले राम्रै सबक सिकाउने स्पष्ट छ ।
जननेता मदन भण्डारीको कालजयी जनताको बहुदलीय जनवादी विचार बोकेर, के पी शर्मा ओलीले प्रचलनमा ल्याएको नेपालको चुच्चे नक्सा छातीमा बोकेर, समृद्ध नेपाल सुखी नेपालीको लक्ष बोकेर जनतामा गइसकेको एमालेलाई चुनावी कुरुक्षेत्रमा हराउनु वर्तमान गठबन्धन वा अर्को कुनै महा गठबन्धनलाई फलामको च्यूरा चपाएसरह हुनेछ ।