७ आश्विन २०८१, सोमबार
अघिपछि शुन्य गाउँमा दसैँले चहलपहल बढ्दो : छोरानाती आएपछि खुसी फर्किएको छ

गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा बृद्धि


  • टाइम्स संवाददाता

  • १७ आश्विन २०७९, सोमबार ०८:५०

गलकोट : रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन्। गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमासमेत वृद्धवृद्धामात्रै देखिन्छन्।

दश वर्षअघि बागलुङ नगरपालिका–८ स्थित मैनाकुमारी कार्कीको परिवार गाउँमै ठूलो थियो। एघार जनाको परिवार रहेकोमा श्रीमान् मृत्यु भयो। छोरा छोरी र नातनातीना बजार झरेपछि मैनाकुमारी एक्लै भइन्। उनीमात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा वृद्धवृद्धा मात्रै छन्। तर उक्त गाउँको खुशी दशैसंगै फर्किएको छ। अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन्।

दसैं शुरु भएपछि मैनाकुमारीजस्तै बुढाबुढीको खुशी फर्केको छ। दसैं आएपछि घर लिपपोत गरेर चिटिक्क बनाइको छ भने परिवार दसैं मान्न घरमा आउने क्रम जारी रहेको छ।

‘जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्’ मैनाले भनिन्, ‘तर दसैंतिहार आएपछि विदेश गएकासमेत आए भने बजारमा बस्दै आएका छोरानाती सबै आउँदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दसैंले गर्दा खुशी फर्किएको छ।”

यस्तै हर्कबहादुर जिसीले दसैंमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राखेका छन्। उनले गाउँमा दसैं आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताए। गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा बृद्धि भएको छ।

झार उम्रेका घरआँगनसमेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ। ‘दसैँमा छोरानाती आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिपपोत गरेर चिटिक्क छ’ उनले भने, ‘एक वर्षसम्म बुढाबुढीमात्रै बस्दै वित्छ दशैतिहारमा त छोराबुहारी र नातनातीना संग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दसैं।’

बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दसैं मनाउन फर्केकाले  सरसफाइ गरेर चिटिक्क बनाएका छन्।  अघिपछि गाउँको खुशी नै लुटिएपनि दसैं आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताए। बढ्दो शहरीकरणका कारण र बसाइ सराइका कारण गाउँहरु बिस्तारै उजाडिदै गएको उनको भनाई छ।

‘अघिपछि गाउँ शून्य हुन्छ, मर्दा पर्दासमेत समस्या छ, तर दसैं आएपछि गाउँमात्रै भरिदैन गाउँको खुशी नै फर्कन्छ’ उनले भने, ‘गाउँ भरिभराउ हुन्छ, एक वर्षमा भएपनि दसैंको टीका गाउँमै लगाउने जनाउँदै बजारमा घर भएकाहरु समेत गाउँ फर्कन्छन्, अघि पछि शून्य गाउँ दसैं आएपछि चहल पहल हुन्छ।’ उहाँका अनुसार गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि हुँने रमाइलोले दसैंको महत्वलाई झल्काउने गरेको छ।

नेपालीको मुख्य चाडपर्वका रुपमा रहेको दसैं, शुभदीपावली, छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीहरुले बताएका छन्। गाउँ जाने यातयातका साधनहरुले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन्।

दसैंमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दसैंमा खोसिएको गाउँको खुशी फर्कन्छ।

Nabintech