७ आश्विन २०८१, सोमबार
राप्ती नदीको बहाव बढ्यो, फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँ लगायत स्थानमा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएको छ, नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ


  • रासस

  • २० आश्विन २०७९, बिहीबार ०७:५२

काठमाडौं : म‌गलबार रातिदेखिको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ।  लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ६.३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

बिहीबार बिहान ६ः३० बजे कुसुममा नदीको सतह ६.३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ। अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीले जानकारी दिए। राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ।

जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार साँझ सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकरले सूचना जारी गरी राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

सूचनामा नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न पनि उल्लेख गरिएको छ। अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएको छ। नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ । अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावतमाकठिनाइ भएको छ।

Nabintech