८ आश्विन २०८१, मंगलवार
आज खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन राशिलाई के फल ?

ग्रहण एउटा प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभीत हुनुहुँदैन


  • ज्यो.प. नारायणप्रसाद दुलाल

  • ८ कार्तिक २०७९, मंगलवार ०४:३८

निद्रायां जायाते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर ॥
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे बधे च नरकं व्रजेत् ॥

आज कार्तिक कृष्ण औँशी तिथिका दिन अर्थात् कात्तिक ८ गते मङ्गलवार तदनुसार २५ अक्टोबर दिन खण्डग्रास सूर्यग्रहणु लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत सहित दक्षिण पश्चिमी एशियाका सबै देश, उत्तरपूर्वी युरोप, अस्ट्रेलिया, उत्तरी दक्षिणी अमेरिका, अटलान्टिक, अन्टार्कटिका, प्रशान्त महासागर, हिन्द महासागर, पूर्व र उत्तर अफ्रिकाबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार ८ गते मङ्गलवार दिउँसोको ४ बजेर ५२ मिनेटमा स्पर्श हुने र साँझ ५ बजेर २४ मा सूर्यास्त सँगै ग्रहणको सुतक काल समापन हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३२ मिनेटको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई दक्षिण र नैऋत्यमा समाप्ति हुनेछ । अन्य देशको ग्रहणको समय भने फरक हुनेछ ।

सूतक समयः
शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टा पूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले कात्तिक ८ गते बिहान ४र५२ देखि नै बालक, वृद्धा, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू सबै विवेकशील प्राणीहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भुट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमि खनन गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपमा निषेध हुन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्ता, कुश, चन्दन साथमा राखेरमात्रै घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शसँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पुण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरुङ्गी, निमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । आफ्नो जन्म कुण्डलीमा ग्रहण दोष परेको छ भने सूर्य, चन्द्रमा, राहु र केतु को जप गर्नु र आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यस ग्रहको जप गर्नाले ग्रहपीडा कमभई नवग्रहको असिम कृपा प्राप्त हुनेछ ।

कुनै जातकको जन्म कुण्डलीमा सूर्यग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदिको लागि पनि पुण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पुण्यकालमा ब्रह्मचर्यको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।

ग्रहण एउटा प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभीत हुनुहुँदैन । यस खण्डग्रास सूर्यग्रहणले मनुष्य जीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभीत नभई ग्रहणलाई सम्यक रूपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्ता वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक ऊर्जालाई रोक्न सहयोग गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।

यसपटकको खण्डग्रास सूर्यग्रहण चित्रा नक्षत्रमा परेको हुनाले “ग्रहणनक्षत्रं षण्मासं पूर्णग्रासे वर्ज्यम् । पादादिग्रासे सार्धमासादितारतम्येन योज्यम्” धर्मसिन्धुस् अनुसार ग्रहणको अवस्थाका आधारमा आउने महिनासम्म चित्रा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै चित्रा नक्षत्रमा ग्रहणको योग परेरकाले विशेषगरी चित्रा नक्षत्रमा जन्म भएका, तुला राशि र तुला लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ ।

ग्रहण फल
यसपालि मेषादि बाह्र राशिको ग्रहण फल यसप्रकार रहेको छ
मेष : स्त्रीपीडा हुने
वृष : सुखदायी हुने
मिथुन : चिन्ता बढ्ने
कर्कट : व्यथा बढ्ने
सिंह : श्रीस् प्राप्ति हुने
कन्या : क्षति हुने
तुला स् घात हुने
बृश्चिक : खर्च बढ्ने
धनु : लाभ हुने
मकर : सुख मिल्ने
कुम्भ : मानहानी हुने
मीन : कष्ट हुने ।

 

Nabintech