काठमाडौं : कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ।
सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो। मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णयक विकास समितिले जनाएको छ। ।
वनजंगलका औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ। गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ। देवकार्य वा पितृकार्य गर्दा गाेदान नगरी शुद्ध भएको मानिँदैन।
कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ। लौकिक परम्परामा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र(डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी गर्न सहज हुने लोकविश्वास छ।
म्हपूजा पर्व पनि आजै मनाइँदै
नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताए ।
म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) दिन्छ । खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरु राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रुपमा गणेशलाई चढाएको बिमिरो काटेर भोज समापन गरिन्छ ।
म्हपूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । म्हपूजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ ।
इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगत्को कल्याण गर्न सक्छु । संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताए । उनले भने, “म्हपूजा पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिन अर्थात् औँसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्नताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो ।”
प्राडा श्रेष्ठले भने, “म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रुपमा यसलाई मनाउँदै आएको छन । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने कुचो, नाङ्गलो, गाग्री, करुवा, सिलौटा र चुलोलगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ ।”
यसै दिन पारेर नेवारले नयाँ संवत्समेत मनाउँछन् । म्हपूजाको दिन नेपाल संवत् सुरु हुन्छ । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधले नसताओस् र शरीर सधैँ तन्दुरुष्ट होस् भन्ने कामनाले पनि म्हपूजा गर्ने प्रचलन सुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् ।
म्हपूजा कहिलेदेखि सुरु भएको, कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउँछन् ।
म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् सुरु भएको कथन पाइन्छ ।
कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहूर्तमा विष्णुमती र भद्रमतीका बीचमा रहेको चखुंतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । सोही अनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चखुंतीर्थमा बालुवा लिन पठाउँछ । ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शङ्खधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनाका कारण खोज्न थाले । उनले बालुवामा केही रहस्य भएको शङ्का गरी ती भरियाहरुलाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाएँ । भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शङ्खधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ संवत् चलाएको मान्यता रहेको छ ।