८ आश्विन २०८१, मंगलवार
‘गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमाले विरुद्ध घेराबन्दी गरियो’

“सत्ता स्वार्थ सिद्धिका लागि मात्रै गठबन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो”


  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०७९, बुधबार १०:४१

दाङ :नेकपा (एमाले) का महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमाले विरुद्ध घेराबन्दी गरिएको बताउनुभएको छ ।  अम्माखोली साँस्कतिक परिवार तुलसीपुर उपमहानगरपालिका–१८ ले आयोजना गरेको देउसी भैलो कार्यक्रमको मङ्गलवार सुरुआत गर्नुहुँदै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।

“गुमेको जमिन समेटेर एमाले नेतृत्वको सरकारले चुच्चे नक्सासहित देशको नक्सा जारी गरेर राष्ट्र हितको काम गर्‍यो”, महासचिव पोखरेलले भन्नुभयो– “जनता र राष्ट्र हितका काम गर्दा एमालेविरुद्ध गठबन्धन गरिएको छ । यो गठबन्धन राष्ट्र हितमा छैन र यसले जनता र राष्ट्र हितमा काम पनि गर्दैन ।” गठबन्धन स्वार्थहरूको झुण्ड भएकाले जनसरोकारका विषयमा गठबन्धन सरकार बेखवर भएर बसेको उहाँले बताउनुभयो ।

“सत्ता स्वार्थ सिद्धिका लागि मात्रै गठबन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो”, उहाँले भन्नुभयो–“यसको प्रमाण किसानले चाहिएको बेला मल नपाउनु, महँगी दोब्बर बढेर जानु र देश आर्थिक सङ्कटतर्फ धकेलिनु नै हो ।”

उहाँले अहिले बैङ्कले ऋण माग्दा पनि दिन नसक्ने अवस्था आइसकेको बताउनुभयो । एमाले सरकारले मुद्रा सञ्चिती १२ महिनालाई पुग्ने अवस्थामा छोडेको थियो । अहिले त्यो घटेर छ महिनामा झरेको छ पोखरेलले भन्नुभयो– “‘गठबन्धन सरकार रहिरहे देश आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुग्नेछ ।” उहाँले मङ्सिर ४ परमादेशको सरकार हटाएर जनादेशको सरकार निर्माण गर्ने पर्व भएको बताउनुभयो ।

महासचिव पोखरेलले एमाले सरकार हुँदा दाङ–सल्यान–रुकुमसम्म राप्ती राजमार्ग, घोराही–होलेरी–डोल्पासम्म शहीद मार्ग, कर्णाली जोड्ने तुलसीपुर–सुर्खेत मार्ग, घोराही–देवीस्थान प्युठान मार्गजस्ता रणनीतिक महत्त्वका सडक पूर्वाधारको निर्माण, स्तरोन्नतिको काम गरिएको भन्दै पछिल्ला दिनमा सरकारले बजेट कटौती गर्दा विकासको काम ठप्पजस्तै भएको बताउनुभयो ।

दाङमै पनि घोराही–हापुर–आँखा अस्पताल–पञ्कुले सडक, बबई–कोहलपुर सडक, रामपुर–भालुवाङ सडक निर्माणको चरणमा रहेको भन्दै उहाँले परम्परागत दामोदर सडकको स्तरोन्नतिको काम गरिएको बताउनुभयो । तर यी सडकहरूमा एमाले सरकारले विनियोजन गरेको बजेट गठबन्धन सरकारले कटौती गर्दा काम रोकिएको समेत उहाँले बताउनुभयो ।

Nabintech