८ आश्विन २०८१, मंगलवार
सुर्खेतमा कार्तिक २९ गते एमालेको विशाल चुनावी जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०७९, सोमबार १९:०६

सुर्खेत:  नेकपा एमालेले यही कार्तिक २९ गते सुर्खेतको वीरेन्द्रनगरमा विशाल चुनावी जनसभा गर्ने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना हुने उक्त जनसभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने हुनुभएको छ ।

चुनावी सभामा दशौँ हजार जनसमुदायको सहभागिता रहने एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । उहाँका अनुसार एमाले सुर्खेतको जिल्ला कमिटी सचिवालय बैठकले उपाध्यक्ष कूलमणि देवकोटाको संयोजकत्वमा सात सदस्यीय जनसभा व्यवस्थापन समिति गठन गरेको छ । जसमा जिल्ला पार्टी सचिव कविन्द्रकुमार केसी, उपसचिव घनश्याम पाण्डे, सचिवालय सदस्य डम्मर तिवारी, गंगाराम तिमिल्सेना, पूर्णप्रसाद पौडेल र नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल सदस्य रहेका छन् ।

वीरेन्द्रनगरको चुनावी जनसभालाई एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका शीर्ष तथा प्रभावशाली नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोहीदिन दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । अध्यक्ष ओलीले निर्वाचनअघि सुर्खेत र दैलेखसहित ४० जिल्लाका चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्य राखेर एमालेले भारतसँग सीमा विवाद रहेको दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीले निर्धारण गरेको कार्यक्रमअनुसार अध्यक्ष ओलीले दार्चुलाको खलंगाबाट अभियानको सुरुवात गर्ने हुनुभएको छ ।

Nabintech