काठमाडौं : बालिका बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश गरेको अदालतका सूचना अधिकृत दीपक दाहालले जानकारी दिए।
बुधबार सुरु भएको थुनछेक बहस तीन दिन चलेको थियो। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरुसहित झण्डै एक दर्जन कानुन व्यवसायीले बहस गरेका थिए।
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गरे पनि मंगलबार दिनभर सन्दीपको बयान भएकाले बुधबार मात्रै थुनछेक बहस सुरु भएको थियोे।