मुस्ताङ: मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको पाँचवटै स्थानीय तहमा एक हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११।३७ मेट्रिकटन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए ।
यसैगरी जिल्लामा कुल स्याउ उत्पादन मध्ये यसवर्ष ४ सय ४० मेट्रिकटन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । जिल्लामा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ । तीमध्ये २२ हेक्टरका बगैंचाले उत्पादन दिइरहेका छन् ।
यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैंचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैंचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङको विभिन्न छ चिस्यान गृहमा करिब ७० मेट्रिक्टन स्याउ भण्डारण गरेर राखिएको बताए । फागुन चैतको ‘बेसिजन’मा चिस्यानकेन्द्रको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् ।
परियोजनाले स्याउ जोन कार्यक्रम अन्तर्गत १२५ सहकारी÷समूह÷निजी फर्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारीहरू स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् ।
समुन्द्री सतहदेखि करिब २५ सय मिटर अग्लो उचाई भन्दा माथि स्याउ खेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुनेगर्छ । जिल्लाका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ ।
उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीहरुले स्याउ कोशेलीका रुपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकहरुले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छ उद्योग छन् ।