१० मंसिर २०८१, सोमबार
कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिँदै

  • टाइम्स संवाददाता

  • २१ मंसिर २०७९, बुधबार ०७:३०

कोहलपुर:  कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिँदैछ । त्यसका लागि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने उद्देश्यले आज एउटा महत्त्वपूर्ण सम्झौता पनि नगरपालिकाले गरेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीको “जनताको रहर हरित सहर” कार्यक्रम अन्तर्गत कोहलपुरमा सडक हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि समितीसँग सम्झौता गरिएको नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

उक्त सम्झौतासँगै कोहलपुर नेपालगन्ज सडकखण्डको साझा चोकदेखि हाईस्कुल सम्मको सडक डिभाइडरमा रेलिङ्ग सहित बृक्षारोपण गरि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गरिने छ । त्यसका लागि राष्ट्रिय गौरवको आयोजना राष्ट्रपति चुरे-तराइ मधेस संरक्षण विकास समितीले कोहलपुर नगरपालिकालाई तीस लाख रुपैया सहयोग गर्ने भएको छ ।

बाँकी अपुग रकम कोहलपुर नगरपालिका आफैले ब्यहोर्ने सहमति पनि भएको नगर प्रमुख आचार्यले जानकारी दिनुभयो । सम्भाब्यता आँकलन, निरीक्षण र स्थान छनौट प्रकृया पुरागरी कार्यक्रम गर्ने सहमती बनेको हो । कार्यक्रम चालू आर्थिक वर्षबाटै कार्यान्वयनमा आउने छ । राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितीका कार्यकारी सदस्य भेषराज आचार्यले जनताको रहर हरित सहर बनाउने अभियान अन्तर्गत नगरपालिकासँग सहकार्य गरिएको बताउनुभयो ।

कोहलपुर नगरपालिका र समितीको ध्यान अब हरियाली शहर निर्माणका लागि केन्द्रित हुनेछ सम्झौतापछि उत्साहित हुँदै समिती सदस्य भेषराजले भन्नुभयो-`मेयर सापको हरित नगर बनाउने अभियानमा जोडिन पाउँदा हामी खुसी छौँ ।´सम्झौता हस्तान्तरण कार्यक्रममा राष्ट्रपति चुरे-तराइ मधेस संरक्षण विकास समिती, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका प्रमुख भरत भट्ट, साइड इन्चार्ज सुरज थापा, नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकाल लगायतको सहभागीता रहेको थियो ।

Nabintech