१० मंसिर २०८१, सोमबार
चितुवाले आक्रमण गर्दा पाँच घाइते,हात्तीको आक्रमणबाट एकको मृत्यु

घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उहाँका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी


  • टाइम्स संवाददाता

  • २१ मंसिर २०७९, बुधबार १०:२७

नेपालगञ्ज : डोटीमा चितुवाको आक्रमणमा परि पाँच जना घाइते भएका छन् । हिजो बेलुका साढे ५ बजे पूर्वीचौकी गाउँपालिका–५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उहाँका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् ।

४ वर्षका सिद्ध बटाला घरको आगनमा  खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । बटाला चिच्याएपछि परिवारका सदस्यले चितुवालाई लखेटेका थिए । भाग्दै गरेको चितुवाले बटालाको घरभन्दा पर गोठालोबाट फर्किदै गरेका सरु, लाली, हसिना र पुष्पालाई आक्रमण गरेको हो । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसैगरि कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको हिजो ज्यान गएको हो  ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका बेला धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।

Nabintech