८ मंसिर २०८१, शनिबार
युटुबर आतंक भेट्यो कि बुम तेर्साइहाल्ने, किन रोकिन्न युटुबे आतंक

प्रहरीलाई नै छक्याउन खोज्छन् यूट्युबर


  • श्याम राई

  • ५ पुष २०७९, मंगलवार ०८:१६

 

यो भिडियो कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–३ स्थित जनता आधारभूत विद्यालयका शिक्षक पारसप्रसाद जयसवालको हो। विद्यालयका अनुसार मंसिर २१ गते आफूलाई स्थानीय पत्रकार भन्ने कृष्ण पौडेल र शम्भु विकले अनुमतिविनै कक्षा कोठामा प्रवेश गरी जयसवालको भिडियो बनाएका हुन्।

भिडियोमा जयसवालले कक्षाकोठामा विद्यार्थीहरूलाई पढाइरहेका देखिन्छन्। त्यत्तिकैमा पौडेल र शम्भुले ती शिक्षकलाई ‘जति गाउन सक्नुहुन्छ त्यति राष्ट्रिय गान गाउनुस्’ भन्छन्। तर,जयसवाललाई आउँदैन। विद्यार्थीले किताब दिन्छन्।

उनी बेञ्चमा राखेर राष्ट्रिय गान खोज्छन्। भेटेपछि उनी सोध्छन्,‘बसेर कि उभिएर?’ दुई जनाले उभिएर गाउन भन्छन् भने। शिक्षकले गाना हेर्दै गाउँछन्। तर,लय मिलाउन सक्नदैनन्। यही भिडियोले अहिले चर्चा पाएको छ। उनीहरूले बिना अनुमति शिक्षकको भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै विद्यालयले प्रेस विज्ञप्ति जारी गरी घोर भर्त्सना गरेको छ।

‘विद्यालयका ५९ वर्षीय स्थायी शिक्षक जयसवाल सरलाई अनावश्यक तरिकाले दबाब दिई जुन राष्ट्रिय गान बिहान प्रार्थनाको समयमा सामूहिक रूपमा गाउनुपर्ने भएकोले एक्लै गाउन लगाएको र सो क्रममा उहाँ आत्तिएर राष्ट्रिय गान गाउँदा केही त्रुटि भएको सामान्य कुरालाई भिडियो बनाइ बुद्ध टिभी,फेसबुक र अन्य सामाजिक सञ्जाल मार्फत अनावश्यक कुरा लेखी निज शिक्षकको चरित्रहत्या गर्ने काम गरेको कार्यप्रति विद्यालय परिवार उक्त कार्यको घोर भर्त्सना गर्दै विज्ञप्ति जारी गरिएको छ,’२७ गते जारी विज्ञप्तिमा उल्लेख छ।

शिक्षकका अनुगमन टोली जस्तै भएर सोध्छन् स्पेलिङ

यूट्युबर यतिमा मात्र सीमित छैनन्। अनुगमनकर्ता बनेर कक्षा कोठामा प्रवेश गर्दै शिक्षक र विद्यार्थीहरूलाई विभिन्न प्रश्न सोधिरहेका हुन्छन्। सामाजिक उत्तरदायित्वलाई पूर्ण रूपमा बेवास्ता गर्दै ती भिडियो अपलोड गरि मनग्गे आर्थिक आम्दानी गरिरहेका छन्।

‘संघीय एक्सप्रेस’ नामक यूट्युब च्यानलमा त्यस्तै एउटा भिडियो छ। क्यामेराम्यान रियान शाह र विष्णुकुमार देवकोटा २०७८  भदौमा कर्णाली प्रदेशको सल्यान जिल्लाको बागचौर नगरपालिका ७ को श्री बालकल्याण माध्यमिक विद्यालयमा प्रवेश गरी पढाइरहेका शिक्षिकालाई किन पोशाक लगाउनु भएन? भनेर प्रश्न गर्छन्।

भिडियोमा देवकोटाले शिक्षिकालाई कति कक्षामा पढाउनुहुन्छ भन्दै प्रश्न गरेको देखिन्छ। शिक्षिका भन्छिन्,‘कक्षा ४–५ लाई पढाउँछु।’ ‘देवकोटाले कुन विषय पढाउनुहुन्छ’ भन्छन्। ‘म म्याद र साइन्स पढाउँछु,’शिक्षिका जवाफ दिन्छिन्।

देवकोटाले साइन्सको ‘स्पेलिङ’ सोध्छन्। शिक्षिका जवाफ फर्काउँदै भनिन्,‘एस ए आइ एन सी आइ एस’। यो सुनेर देवकोटा हाँस्छन्। यूट्युबरको ज्यादती यतिमै  रोकिँदैन। मार्करले ह्वाइट बोर्डमा लेख्न लगाउँछन्।

यससँगै म्याथको स्पेलिङ पनि लेख्न लगाउँछन्। लेख्दा शिक्षिका डराएकी भिडियोमा प्रष्ट देखिन्छ। क्यामेरा र बुम देखेपछि बाहिर भएका विद्यार्थी पनि कक्षा कोठामा प्रवेश गर्छन्। देवकोटाले विद्यार्थीलाई पनि स्पेलिङ लेख्न लगाउँछन्।

२०७८ साल भदौ ३ गते ‘सल्यानमा स्कुल खुल्यो, विद्यार्थीको जीवन खतरामा, स्कुलमा साबुन समेत छैन, हेडमाष्टरको अत्तोपत्तो छैन’ शीर्षकमा अपलोड भएको यो भिडियोले ३४ हजार भन्दा बढी भ्यूज बटुलेको छ।

यी दुई प्रतिनिधिमूलक घटना हुन्। अचेल यी र यस्ता सामग्रीले यूट्युब रंगिएका छन्। यूट्युबर ‘भ्यूज’ बटुल्न अनेक किसिमका भिडियो बनाइरहन्छन्। व्यक्तिका निजी कुरा छताछुल्ल पारेर, अतिरञ्जनायुक्त सामग्री पस्किएर डलर कमाइरहेका छन्।  यूट्युब ‘लग इन’ गरेर मात्रै हेरियो भने भिडियोको शीर्षकले नै यसबारे प्रष्ट हुन्छ।

के भन्छ पत्रकार आचारसंहिता र कानुनले ?

कानूनले अझै यूट्युबरलाई ठ्याक्कै पत्रकार भनेर परिभाषित गरेको छैन। नेपालका अधिकांश यूट्युबर आफूलाई मिडिया र पत्रकार ठान्छन्। पत्रकार बन्नलाई निश्चित मापदण्ड तथा आचारसंहिता छन्। ती पालना गर्नु आवश्यक छ। तर,ती आचारसंहिता यूट्युबर मान्छन् न हेर्छन्।

पत्रकार आचारसंहिता, २०७३ (पहिलोसंशोधन २०७६) को दफा (५) को उपदफा (१३) मा मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर : पत्रकार तथा सञ्चारमाध्यमले अशक्त, असहाय, अल्पसंख्यक, महिला तथा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्‍याउन नहुने व्यवस्था छ। तर,यूट्युबरले अन्तवार्ताका नाममा अपशब्द प्रयोग गर्ने र त्यही शब्दबाट कन्टेन्ट तान्ने गरेको पाइन्छ।

प्रेस काउन्सिलको स्वअनुगमनबाट कुनै सञ्चारमाध्यम वा पत्रकारले राष्ट्रिय सार्वभौमसत्ता, सार्वजनिक हित, शिष्टाचार वा जनसरोकारका विषयमा आचारसंहिता उल्लंघन गरेको पाइएमा छानबिन गरी काउन्सिलले आवश्यक कारबाही गर्नसक्ने व्यवस्था छ।

नेपालको संविधान २०७२ को धारा (२८) मा गोपनीयताको हकको व्यवस्था छ। उक्त हकमा भनिएको छ, कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ।

त्यस्तै,कानूनले कसैको अनुमतिबिना फोटो र भिडियो खिच्न तथा सामाजिक सञ्जालमा पोष्ट गर्न निषेध गरेको छ। मुलुकी फौजदारी अपराध संहिताअनुसार अनुमतिबेगर कसैको तस्विर खिचेमा एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

शिक्षक कमजोर भए राज्यले हेर्छ,युट्यूबरले होइन : शिक्षक महासंघ

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी अनुमतिविना व्यक्तिविशेषलाई अनावश्यक रूपमा प्रश्न सोधेर सामाजिक सञ्जालमा भिडियो हाल्नु गलत भएको बताउँछन्। शिक्षकको  अनुगमन यूट्युबर नभई राज्यले गर्ने उनी बताउँछन्।

‘शिक्षकको बारे केही जान्नलाई सोध्नुछ भने त राज्यका सम्बन्धित निकाय छ। ती निकायमार्फत हेर्ने,सोध्ने हो’, उनी भन्छन्, ‘शिक्षकको योग्यता क्षमताबारे निश्चित प्रक्रिया  छ। हेर्ने निकाय छन्। व्यक्तिगत रूपमा गएर जो पायो त्यसैलाई प्रश्न सोध्ने होइन। यस्तो प्रक्रिया ठीक भएन।’

पछिल्लो समय शिक्षा क्षेत्रलाई बदनाम गर्ने क्रियाकलाप भइरहेको उनको भनाइ छ। ‘शिक्षक परीक्षा पास गरेर, प्रक्रिया र पद्धति पूरा गरेर आएका हुन्। व्यक्ति सबै कुरामा विज्ञ हुँदैन। कहीँ कतै त कमजोरी भइहाल्छ’, उनी भन्छन्, ‘विद्यालयजस्तो संवेदनशील ठाउँमा भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने हो र?’

उनका अनुसार महासंघमा जनता आधारभूत विद्यालयका शिक्षकले लिखित रूपमा अहिलेसम्म जानकारी गराएको छैन। ‘यहाँ लिखित रूपमा जानकारी आए कारबाहीका लागि सरकारको सम्बन्धित निकायमा कुरा गर्छौँ’, उनी भन्छन्, ‘हरेक मान्छेलाई विद्यालयमा पसेर शिक्षकको बारेमा कुरा गर्ने अधिकार छैन।’

मौन छन् विद्यार्थी संगठन

विद्यालय क्षेत्रमा यूट्युबरको रजगजबारे विद्यार्थी संगठन भने मौन छन्। विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा प्रश्न गर्ने अधिकार भए पनि विद्यालयमा कक्षा सञ्चालन  भइरहेका वेला  विना अनुमति प्रवेश गरेर भिडियो बनाउन नहुने बताउँछन्। यस्ता कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दबाब दिने उनले बताए।

किन रोकिएन यूट्युबर आतंक ?

युट्यूबमा निजी जीवनका पाटा खोतलेर लाखौंभ्यूज बटुल्ने र यहीलाई आम्दानीको स्रोत बनाउनेको धन्दा फस्टाएको छ। यस्ता कार्यले हाम्रा सामाजिक, साँस्कृत मूल्य र मान्यतालाई पनि चुनाैती दिइरहेका छन्। तर सम्बन्धित निकायले यस्ता कार्यको नियमन गर्न सकेका छैन।

यूट्युबर आतंककै पछिल्लो समय व्यावसायिक पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी भएर काम गरेका पत्रकारको छविमाथि समेत प्रश्न उठ्ने गरेको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी आचारसंहिताको दायरामा ल्याउन महासंंघले पहल गरे पनि यूट्युबरले अटेर गर्ने गरेको बताउँछन्।

प्रेस काउन्सिलले आचारसंहिता उल्लंघन गर्ने यूट्युबरलाइ कारबाही गर्दै आएको पनि उनकाे भनाइ छ। उनका अनुसार कतिपय यूट्युबर भ्यूज बटुल्न पत्रकार आचारसंहिताकै दायरा भन्दा बाहिर रहेर  भिडियो बनाएका हुन्छन्।

‘सबै कन्टेन्ट न्युजमूलक भए पनि न्युज नहुन सक्छन्। समाचार हुन आधारभूत पालना गर्ने सैद्धान्तिक कुराहरू छन्, ती फलो गर्नुपर्छ। यूट्युबमा आएका सबै समाचार नै हुन भन्ने छैन। आएका कुराहरू सबै गलत पनि छैनन्,’उनले भने।

यूट्युब मिडिया हो/होइन प्रश्नमा पुरी भन्छन्,‘मिडिया हो। माध्यम हो। आम नागरिकको पहुँचमा सही तरिकाले लैजाने भनेर केन्द्रित हुनुपर्छ,तर पछिल्लो समय कानुनी संरचनालाई चुनौती दिने क्रियाकलाप यूट्युबरले  गरिरहेका छन्’, उनी भन्छन् ।’ महासंघसँग भएको स्रोत साधनले भ्याएसम्म नियमन  गरिरहेको उनको दाबी छ। यस्ता कार्यलाई निरुत्साहन गर्न अब अभियान नै सञ्चालन गर्नुपर्ने उनले बताए।

‘महासंघको  जहिले नीति, नियमनमार्फत काम गरौँ भन्ने हो। उनीहरूलाई आचारसंहिताको दायरामा ल्याउनुपर्छ’, उनले भने। उनका अनुसार महासंघले अहिले आचारसंहिताको कक्षा चलाइरहेको छ।  उनका अनुसार उनीहरूको संगठित संस्था छन्। ती संस्थाहरूसँग सहकार्य गरी नियमनको दायराभित्र ल्याउन महासंघ र प्रेस काउन्सिलले तय गरेको पत्रकार आचारसंहिता कार्यान्वयन गर्न प्रोत्साहन गरिरहेको उनले बताए।

प्रहरीलाई नै छक्याउन खोज्छन् यूट्युबर

बिना अनुमति भिडियो बनाउने सार्वजनिक ठाउँमा मजाक,ख्यालठट्टा वा मस्करी(प्र्यांक)गर्ने क्रियाकलाप बढेपछि गृह मन्त्रालयले ०७८ माग १३ गते विज्ञप्ति जारी गरि त्यस्तो गर्ने जो सुकैलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

उक्त विज्ञप्तिमा मानसिकतामा नकरात्मक प्रभाव एवं  व्यक्तिगत गोपनीयता,प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिविना कुनै प्रकारको तस्विर, भिडियो लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने उल्लेख छ। तर,भनेजस्तो यसको नियामन अझै हुन सकेको छैन।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई यूट्युबर आतंक रोक्न साइबर ब्यूरोले अनुगमन गरिरहेको बताउँछन्। पीडितले उजुरी दिए कानुनी अनुसार कारबाही गर्दै आएको उनी बताउँछन्। ‘पहिला त जो पीडित छ उसको उजुरी आउनुपर्छ, युट्युबर क्राइमसँग रिलेटेड भए हामी हेर्छौँ। यस्ता उजुरी आइरहन्छ, हामीसँग भएको जनशक्तिले भ्याएको सम्म मनिटरिङ गरिरहेका छौँ,’उनले  भने।

यूट्युबर अहिले जहाँ पाए त्यही ठाउँमा छिरेर अनावश्यक रूपमा भिडियो बनाउने काम गरिरहेको उनले बताए। यूट्युबर प्रहरीलाई समेत छक्याउन खाेज्छन्। ‘केही समय अघि एउटा मान्छे म कहाँ आयो। उसले म कान्तिपुरको भन्यो’, राईले भने, ‘तर प्रश्न सोध्ने  शैलीबाट मलाई शंका लाग्यो अनि मैलै कार्ड हेरौँ भनेको त त्यो कान्तिपुरको नभाई युट्युबर रहेछ ,’उनले सुनाए।

युट्युबमा राखिएका अश्लील शीर्षकले समाजमा नकरात्मक असर पुगेको उनी बताउँछन्। ‘यूट्युब सञ्चारको सशक्त साधन हो,’उनले भने,‘ तर त्यहाँ भित्र भ्युज बढाउन जे पनि लेखेको हुन्छ। यो भनेको मिडियालाई च्यालेज हो।’

Nabintech