१० मंसिर २०८१, सोमबार
एमाले जनताको रोजाइको पहिलो पार्टी’ ओलिले सम्बोधन गर्ने

एमालेबाट प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन्


  • टाइम्स संवाददाता

  • ५ पुष २०७९, मंगलवार ०८:३८

काठमाडौं : नेकपा एमालेले आज  ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ कार्यक्रमको आयोजना गर्दैछ। आज मध्यान्ह १२ बजे काठमाडौंको प्रज्ञा भवन कमलादीमा कार्यक्रमको आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भई निर्वाचन परिणाम आइसकेको सन्दर्भमा आज एमालेले  ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्नेछन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा लोकप्रिय मतमा पहिलो भएको एमालेबाट प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन्।

आजको कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरूलाई आमन्त्रण गरिएको छ। यस्तै राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरूलाई पनि बोलाइएको छ।

यसैगरी प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको एमालेले  जनाएको छ।

Nabintech