काठमाडौँ : नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभा आजदेखि सुर्खेतमा सुरु हुँदै छ । महासङ्घको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज र भोलि दुई दिन हुन लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने साधारण सभामा झन्डै ७ सयभन्दा बढी पत्रकारको सहभागिता रहने जनाइएको छ । साधारण सभा उद्घाटन कार्यक्रमका लागि राष्ट्रपति भण्डारी आज सुर्खेत जाँदै हुनुहुन्छ ।
यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शङ्कर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रूपमा सहभागिता जनाउनुहुने महासङ्घ जनाएको छ ।
महासङ्घको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आतिथ्यमा साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको हो ।आज र भोलि दुई दिनको साधारण सभाबाटै महासङ्घको आगामी भावी कार्य योजना निर्माण समेत गरिनेछ।