पोखरा: पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्य सहित प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिता अन्र्तगत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा काठमाडौँ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडीहरु सहभागी हुँदैछन् । प्रतियोगिताको खुला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण प्राप्त गर्नेछन् ।