काठमाण्डाै: अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुसार नेपालले पनि कार्यक्रमको सुरुवात गरेको हो ।
कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको छ । कृषि विभागका महानिर्देशक रेवतीरमण पोखरेलले लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिक टन कोदो उत्पादन भएको थियो । देशको कुल खाद्यान्न बालीको क्षेत्रफलको ७ दशमलव ७ प्रतिशत हिस्सा कोदोले ओगट्दै आएको छ । नेपालको तराईदेखि समुद्र सतहदेखि तीन हजार एक सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ ।
मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र विज्ञ श्रीमत श्रेष्ठले देशमा खाद्यान्न उत्पादन घट्न गइ आयात बढिरहेको अवस्थामा कोदोजन्य र अरू रैथाने बालीको संरक्षण र विस्तारमा सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयो । विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपालको स्थान १३औँ रहेको छ । कम वर्षा र कम उर्बर भूमिमा पनि कोदोको उत्पादन हुने भएकाले सिँचाइको सुविधा नभएका ठाउँमा पनि यो बाली लगाउनु सकिन्छ ।
मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र पखालाका रोगीका लागि पनि कोदो राम्रो खाना मानिन्छ । पौष्टिक खाद्य तत्वका हिसाबले कोदो अन्य खाद्यबालीभन्दा धेरै गुणकारी मानिँदै आएको छ ।