पर्वत : सहारा क्लब पोखराको आयोजनामा पोखरामा चलिरहेको २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा आज नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा क्लबबीच खेल हुँदै छ।
गोल्डकपको तेस्रो क्वार्टर फाइनल अन्तरगतको खेलमा यी दुई समूह दिउँसो साढे एक बजे पोखरा रङ्गशालामा प्रतिस्पर्धा गर्ने छन्। आजको खेलमा विजेता बनेको टोलीले पुस २० गते विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँग भिड्नुपर्ने छ। गत पुस १६ गते भएको खेलमा एपीएफले धरान फुटबल क्लबलाई पराजित गरेको थियो।
आहा रारा गोल्डकपको अघिल्ला संस्करणहरूमा पनि यी दुई क्लब आमनेसामने हुँदै आएका छन्। सङ्कटा क्लबले २०७७ सालमा भएको खेलको गोल्डकप आफ्नो पक्षमा पार्न सफल भएको थियो।
त्रिभुवन आर्मी फुटबल क्लब पनि पोखरा गोल्डकपको बलियो दाबेदार हो। चार पटकसम्म उपविजेतामा चित्त बुझाएर फर्किएको यो टोली यस पटक पनि गोल्डकप जित्ने उत्साहका साथ मैदान प्रवेश गर्दै छ। आर्मी २०६५, २०६६, २०७२ र २०७५ सालमा भएका संस्करणमा उपविजेतासम्म पुगेको थियो।