नेपालगञ्ज,बाँके: अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौंमा रहेको स्टारलाईट होटलमा भएको झगडाकै कारण सोमबार गणेशपुरमा खुकुरी प्रहारको घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्जको गणेशपुरमा आईतबार दिउसो नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्वल शाह र नेपालगञ्ज ३ का शुभम शाहलाई खुकरी प्रहार गरिएको थियो । ति मध्ये अनुरागको अवस्था गम्भिर छ । घाइतेको लखनउमा उपचार भईरहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौंस्थित स्टारलाईट होटलमा खुकुरी प्रहारबाट घाइते भएका अनुराग शाह र घटनामा संलग्न रहेका तासे भन्ने प्रकाश थापाको समूहबीचमा वादविवाद र झगडा भई थापाको टाउकोमा चोट लागेको थियो ।सोही घटनाको बदला लिने उद्धेश्यले शाह समेतमाथि योजना बनाई खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । सख्त घाइते बनाउने नेपालगञ्ज १८ का २९ वर्षीय विनय भण्डारीसहित ४जना पक्राउ परेका हुन् ।
बाँके प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले चारै जनालाई आइतवारनै डुडुवाबाट पक्राउ गरिएको बताए । घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ । दुबै समूह फरक–फरक राजनीतिक पृष्ठभूमी भएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय युवा संघको बिज्ञप्ती
यसैबिच राष्ट्रिय युवा संघ बांकेले एक बिज्ञप्ती जारी गर्दै पौष १६ गते राति नेपालगञ्जमा रहेको स्टार लाईट क्यासिनोमा राष्ट्रिय युवा संघ बांकेका सदस्य प्रकाश थापा तासि माथि भएको सांघातिक हमला र सो को भोलिपल्ट नेपालगञ्जकै गणेशपुरमा भएको घटना प्रति दुख ब्यक्त गर्दै कानुन हातमा लिएर गरिने यस्ता क्रियाकलापप्रति युवा संघले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
दोषि र संलग्नहरुलाई कानुनि दायरामा ल्याएर कारबाहि गर्न माग गर्दै युवा संघ बांकेले सो घटनासंग जोडेर निर्दोश ब्यक्तिहरुलाई नियोजित तरीकाले फसाउन नियोजित योजना नबनाउन सरोकारवाला सबैलाई ध्यानाकर्षण समेत गरेको छ ।
बिज्ञप्तीमा बिभिन्न सामाजिक सञ्जालमा निर्दोश ब्यक्तिलाई जोडेर घटनालाई अतिरञ्जित बनाउने प्रयास गरिएको भन्दै युवा संघले निर्दोष फसाउने प्रपञ्च गरे आफुहरु चुप्प लागेर नबस्ने जनाएको छ । युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बांके ईन्चार्ज कुस्माखर बस्याल, जिल्ला अध्यक्ष ज्ञानेन्द्रराज वली र सचिव रमेश मिजारद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा निर्दोष फसाउने गरि कुनैपनि कार्य भए युवा संघले देश ब्यापि रुपमा कडा कदम चाल्न बाध्य हुने समेत उल्लेख गरेको छ ।
नेपालगञ्जमा चक्का जाम
नेपालगञ्जमा सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका हुन् । नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ ।
घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई हाल नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय रत्नबहादुर दर्लामीलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।