हुम्ला: हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका छन् । हवाई सेवा बन्द हुँदा नेपालगन्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् ।
नेपालगञ्जबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन् । नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ । हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रु सिमकोटमै अलपत्र परेका छन् । नेपागञ्जमा हुस्सु लागेका कारणसमेत हुम्लामा उडान हुन नसकेको हो ।