१० मंसिर २०८१, सोमबार
‘नयाँ च्याप्टर सुरु भयो, अब जुरो हल्लाएर सिंगौरी खेलेर काम छैन’

‘एस भन्ने पार्टीले अहिलेको नयाँ समीकरण ठीक छ समेत भन्न सकेन'


  • टाइम्स संवाददाता

  • २३ पुष २०७९, शनिबार १६:०९

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको सहकार्यबारे नयाँ च्याप्टर सुरु भएको टिप्पणी गरेका छन्। विगतमा आफूविरुद्ध पार्टीमा घेराबन्दी भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसबेलाका दु:खद च्याप्टरहरु सकिएर नयाँ च्याप्टर सुरु भएको टिप्पणी गरेका हुन्।

‘केपी ओलीबिनाको एमाले र एमालेबिनाको नेपाल कल्पना गरेर ममाथि १९ पृष्ठ लामो आरोप पत्र आयो, पार्टी पटक पटक फुटाइयो। यी दुःखद च्याप्टरहरु सकिए’, सांसदहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘अब नयाँ च्याप्टर सुरु भएको छ, मैले विश्वास लिएको छु हिजो कमिकमजोरी गरेको साथीहरूले पनि अब त्यो कुरा दोहोर्याउने छैनन्।’ कांग्रेससँग सहकार्य गर्न गएका प्रचण्ड र माधव नेपाल कसैलाई पनि चुनावमा फाइदा नभएको ओलीको तर्क छ।

‘माओवादीले कांग्रेस बोकेर के भो? ३६ सिट जितेको थियो १८ मा झर्यो, २३ सिट जितेको कांग्रेसलाई ५७ मा पुर्‍याइदियो, फाइदा के भो? हामीबाट छुट्टिएर गएका एमालेलाई टर्च बालेर खोज्ने बनाइदिन्छौँ भन्नेहरू राष्ट्रिय पार्टीको हैसियतमा छैन। बुझ्नपर्‍यो नि अब त।’ प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘अब जुरो हल्लाएर काम छैन। जुरो हल्लाउने, सिंगौरी खेल्ने होइन, सुरुसुरु देश र जनताका लागि काम गरौँ, हाम्रो सबैसँग आग्रह छ।’

ओलीले चुनाव अघिदेखि आफूले यो परिस्थिति ल्याउन खोजे पनि चुनावपछि मात्रै संभव भएको बताए। उनले नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो, स्थायी कमिटी बैठक राखे पनि अहिलेको समीकरणलाई सकारात्मक रुपमा ग्रहण गर्न नसकेको टिप्पणी गरे।

‘एस भन्ने पार्टीले अहिलेको नयाँ समीकरण ठीक छ समेत भन्न सकेन’, ओलीले थपे, कहिले माओवादीसँग मिल्छु भनेको छ, एमालेसँग पनि पाए मिल्छु भनेको छ, कांग्रेस तिर पनि ढल्किएको छ। जसपासँग एकता गर्छु भन्छ। एमाले र जसपालाई उस्तै उस्तै देख्छ। जता पनि ढल्किएर काम छैन।’

Nabintech