इटहरी : सुदूरपश्चिम र प्रदेश १ महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको एपिएफलाई ८ विकेटले हराउँदा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ११४ रनको फराकिलो अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।
एपिएफले दिएको ४६ रनको सामान्य लक्ष्य प्रदेश १ ले ९ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो। प्रदेश १ को जितमा कप्तान रुबिना क्षेत्रीले अविजित २० तथा अप्सरी बेगमले ९ रन जोडिन्। काजल श्रेष्ठले ९ रन बनाउँदा लकिता राजबंशी १ रनमा रन आउट भइन्।
त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफ १३ दशमलव ४ ओभरमा अलआउट हुँदै ४५ रनको झिनो स्कोरमा समेटियो। एपिएफका लागि कप्तान सीता राना मगरले सर्वाधिक १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ एलिसा खड्का र संगीता राईले सर्वाधिक ३/३ विकेट लिँदा सबनम राईले २ विकेट हात पारिन्। आजै भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि ११४ रनको फराकिलो जित निकाल्दै फाइनल पुगेको हो।
सुदूरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ६६ रनमा समेटियो। मधेश प्रदेशका लागि प्रतिमा शाहले सर्वाधिक १९, सीमा कुँवरले १६ तथा एलिसा यादवले १४ रनको योगदान गरिन्।
त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाएर १८० रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक ७० तथा कप्तान बिन्दु रावलले अविजित ६० रन जोडिन्। कविता जोशीले ३२ रनको योगदान गरिन्। शनिबार हुने फाइनलमा सुदूरपश्चिम र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल जनता क्रिकेट पार्क इटहरीमा दिउँसो १२ बजे हुनेछ।