कोहलपुर, बांके: आईतबार राति करिब साढे २बजे सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ११ झुप्राखोला स्थित रत्न राजमार्गमा छिन्चुदेखि सुर्खेत तर्फ आउँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं. को डबल क्याप हाईलेक्स गाडी एक्कासि अनियन्त्रित भई दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ ।
सडकदेखि ८०मिटर तल खसेको डबल क्याप हाईलेक्स गाडीमा पांच जना सवार रहेका थिए । प्रहरीले घाईतेलाई उद्धार गरि उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएकोमा उपचारको क्रममा चालक विरेन्द्रनगर नगरपालिका वडा नं. ७ बस्ने बर्ष २७ का सागर शाही,दैलेख डुङ्गेश्वर गा.पा.५ का बर्ष ३३का दिपेन्द्र जंग शाही,दैलेख भगवतिमाई गापा५ का बर्ष ३१ का बबिन शाही र दैलेख गुराँस गापा ३ बस्ने बर्ष ३६ को राजेन्द्र बि.सी.उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।
घाईते दैलेख भैरवी गापा ५ बस्ने २६ का बिरेन्द्र राज शाहीको छातीमा गहिरो चोट लागेको भएपनि बोल्न सक्ने अबस्थामा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।
चारैजना स्वास्थ्यकर्मि
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार मृत्यु भएकाहरूमा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक (छैटौँ) दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौँ) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौँ) राजेन्द्र बि.सी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही छन्।
कसरी भयो घटना ?
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार एचएमआईएस, भीएसआईएस, ईएलएससम्बन्धी तीनदिने समीक्षा गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरूलाई वीरेन्द्रनगर बोलाएको थियो । सोही गोष्ठीमा सहभागी हुन गुराँस गाउँपालिकाका राजेन्द्र, डुङ्गेश्वर गाउँपालिकाका दीपेन्द्र, भगवतीमाई गाउँपालिकाका वविन र भैरवी गाउँपालिकाका वीरेन्द्र सुर्खेत आएका थिए ।
यस्तै, शनिबार नै नेकपा एमालेनिकट स्वास्थ्यकर्मीहरूको प्रदेशस्तरीय बैठकमा सहभागी हुन पनि १० जिल्लाका स्वास्थ्यकर्मी सुर्खेतमा भेला भएका थिए । हिजो नै कार्यक्रम सकेर स्वास्थ्यकर्मीहरूले पिकनिक कार्यक्रम तय गरेका थिए, तर सो कार्यक्रम भने स्थगित भएको थियो ।
समीक्षा गोष्ठी सम्पन्न भएपछि बेलुका फार्मेसी सञ्चालक भैरवीका सागर शाहीसँग भेट भयो । लामो समयपछि भेट भएको भन्दै पाँचै जनाले खुसी मनाउने निधो गरे । सोहीबमोजिम सागर शाहीको गाडीमा भेरीगंगा नगरपालिका– १ मा रहेको एक कटेजमा रमाइलो गर्ने भन्दै साँझ ६ बजेतिर उनीहरू वीरेन्द्रनगरबाट निस्किए ।
राति अबेरसम्म खानपिन गरेर करिब १ बजेतिर पाँचै जना वीरेन्द्रनगरतर्फ फर्किंदै थिए । गाडी सागरले चलाइरहेका थिए । रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो । एक्कासि गाडी सडकछेउमा राखिएको डिभाइडरमा बजारिन पुग्यो । छवटा डिभाइडर भत्काउँदै सडकभन्दा २० मिटर तल गाडी उत्तानो परेर बजारियो । गाडी चालक सागर, राजेन्द्र, दीपेन्द्र र वविन गम्भीर घाइते भए । बेहोसीमै वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब साढे २ बजेतिर प्रहरीले उनीहरूको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्यायो । वीरेन्द्रबाहेक अन्य चार जनाको उपचारका क्रममा निधन भयो ।
‘गाडी धेरै स्पिडमा पनि थिएन । हुस्सु लागेको थियो, गीत सुन्दै थियौँ, खै एक्कासि के भयो भयो, गाडी खसेपछि म सडकको साइड वालतिर परेछु, जसोतसो गरी उठेजस्तो लाग्छ, पछि प्रहरीलाई फोन गरेछु, त्यसपछि मलाई कहाँ के भयो, थाहै भएन’, घाइते भएका वीरेन्द्रले भने । वीरेन्द्रलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।