काठमाण्डाै : असावधानीका कारण तातो न्यानो हुन बालेको आगो तथा कोइलाका कारण मानवीय क्षति हुने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा आगोमा जलेर दुई जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–२५ भैँसीपाटी फूलबारीमार्गमा रहेको एक टहरामा आगलागी हुँदा टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको ज्यान गएको हो ।
आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तातो न्यानो हुनका लागि बालेको आगो सल्किँदा आगलागी भएको अनुमान छ ।
यस्तै सप्तरीमा पनि आगोका कारण एक जनाको ज्यान गएको छ । खडक नगरपालिका–१० फूलबारी बस्ने एक महिलाको आगो ताप्ने क्रममा कपडामा आगाे सल्किएर ज्यान गएको हो । घाइते महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ ।
यस्तै, काठमाण्डौ महानगरपालिका–३२ कोटेश्वरमा कोइला बालेर निदाउँदा निस्सासिएर चार जना घाइते भएका छन् । उनीहरुको कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ ।
चिसो नछिरोस् भनेर झ्यालढोका बन्द गरी ३५ दिनकी सुत्केरी सेकाउन हिजो बेलुका कोइला बालेर सुत्दा घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । यसैगरी आगलागीमा परेर रौतहटको दुर्गाभगवतीमा ३ जना तथा महोत्तरीमा २ र झापाको शिवसताक्षी नगरपालिका ३ एक गरी ६ जना आगलागीका कारण घाइते भएका छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ७ र बर्दिवास नगरपालिका १० मा ताप्नका लागि बालेको आगो सारीमा सल्किँदा दुई महिला घाइते भएका हुन् । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २२ ठाउँमा आगलागीका घटना भएका छन् ।
सावधानी नअपनाउँदा तातो न्यानो हुनका लागि बालेको आगो नै ज्यान जाने कारण बन्न थालेको छ । हरेक वर्ष जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा ग्यास गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्दै आए पनि लापरबाहीका कारण आगलागीका घटना रोकथाम हुन सकेको छैन ।
विज्ञका अनुसार हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा ग्यास गिजर प्रयोग गर्नुपर्छ । यस्तै, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न र आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै राख्न हुँदैन भने आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउनु पर्छ ।