काठमाण्डौ: नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुरयाउने स्रष्टालाई नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहको आयोजना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार’ प्रदान गर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले विभिन्न जातीय समुदायका मौलिक संस्कृतिसँगै गीतसङ्गीतले नेपालको भौगोलिक विविधताको समेत प्रतिनिधित्व गर्ने र विश्वभर रहेका नेपालीबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता राख्ने बताउनुभयो । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ बाट मनबहादुर मुखिया, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, दीप तुलाधर, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तु सम्मानित हुनुभएको थियो ।
सोही कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’ बाट रङ्गपत्रकार डब्बु क्षेत्री र कुवेरराज गिरी पुरस्कृत हुनुभएको थियो । कार्यक्रममा समाजका अध्यक्ष शम्भूजित बाँसकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको चर्चा गर्नुभएको थियो ।