बाजुरा: जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मंगलबार आएको ५.९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ ।
भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाएर भिरबाट ढुङ्गा खसेर टाउकामा लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भूकम्पका कारण जिल्लामा तीनजना घाइते भएका छन् । घाइते भएका तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गौमूल–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका–२ की चन्द्रा महत र हुम्ला जिल्ला घर भई हिमाली–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले बताए । बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । महतलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।
वनमा चराउन लगिएका ५० भेडा चट्टान फुटेपछि च्यापिएर मरेका छन् । गौमूल–१ अम्लिसका राजदल बोहराका ५० भेडा भिरको चट्टान भूकम्पले फुटेर चरिरहेका भेडा च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।