काठमाडौँ : प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ ।
काउन्सिलले पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको जनाएको छ । यस्तो कार्य प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत र पत्रकारिताको दुरुपयोग भएको भन्दै काउन्सिलले सञ्चार माध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराएको छ । अटेरी गरे कारबाही हुने काउन्सिलको चेतावनी छ ।
पछिल्लो समय बार्गेनिङ’ पत्रकारिताविरुद्ध उजुरी पर्न थालेका छन् । हामीले विशेष संयन्त्र बनाएर छानबिन गरिरहेका छौं, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने ।
काउन्सिलमा २०७९ साउनदेखि हालसम्म विभिन्न मिडियाविरुद्ध नियमिततर्फ ९७ वटा उजुरी, एक जनगुनासो दर्ता भएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको विशेष अनुगमनका १५ वटा उजुरी र अनुगमन भएकामध्ये १ सय ५१ वटा सामग्री आचारसंहिता प्रतिकूल पाइएको काउन्सिलले जनाएको छ । तीमध्ये २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत, १८ वटालाई मौखिक ध्यानाकर्षण तथा निर्देशन, २७ वटालाई स्पष्टीकरण सोधिएको र ७ वटालाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको थियो ।