७ मंसिर २०८१, शुक्रबार
‘प्रणय सप्ताह’

  • ईश्वर पौडेल

  • २७ माघ २०७९, शुक्रबार १५:२७

 

 

 

 

 

 

 

प्रेम स्वतः हुने कुरा होला तर कुनै न कुनै रुपमा व्यक्त हुन,पोखिन, पग्लिन भने जरुरी त अवश्य नै छ । पोखिनु र पग्लिनुअघि सकारात्मकता पहिल्याएर एकले अर्काको मनोभावना बुझ्न झन् आवश्यक छ ।

 

हामी लुकीछिपी घण्टौँ वार्तालाप गर्न अरुका आँखामा छारो हालेर क्याफेको कुनाको क्याबिनमा हाजिर हुनु, सँगै हुँदा नि अव्यक्त र अनभिव्यक्त निशब्दले अवाक् बनाउने प्रेमिल पल सिर्जना गराउनु, कता छोइएलाझैँ गरी एक कोस पर बसेर कफीको चुस्कीसँगै काउकुती महसुस हुनु, मध्य रातसम्म कथा र व्यथा साट्दै तिमी र मलाई जोडेको धागोमा अनेक भावना पोख्नु नै दैनिक एकले अर्कालाई गरेको प्रेम प्रस्ताव थिएन र ?

प्रेमको प्रस्ताव सोझै ‘आई लभ यु’ भनेर मात्र हुन्छ ? गुलाफले मात्र सम्बन्ध प्रगाढ हुन्छ ? प्रणय दिवस कुर्नै पर्छ ?

प्रणय दिवस कुरेरै रोजडेमा मैले रोजेर आर. ओ. यस. इ नदिउँला किनकि तिमीलाई मैले पहिले नै रोजिसकेको छु । फेरि यो हप्ता नाटक रच्न रोजेझैँ गर्न किन आवश्यक ? के मैले मेरो प्रेम भावना व्यक्त गर्न गुलाबको फूल नै जरुरत हो त । के मैले तिमीलाई रातो गाढा रङ्गको गुलाब नदिएसम्म हाम्रो अदृश्य गाढा सम्बन्ध समाप्त हुन्छ त ?

तिमी मसँग प्रपोज डेमा पनि केही गरेनौँ भन्छाै हाेला शायद । तिमी मेरो मन पर्ने मान्छे हो थाहा नै छ । सधैँ यति खुलेर बात गर्छु । तिमीलाई कतै काट्दा समभाव उत्पन्न हुन्छ, तिमीलाई जति मलाई पनि दुखेको आभास हुन्छ, प्रेम उत्पन्न हुन्छ,जनाउँछु पनि । यति हुँदा नि अझै ‘आइ लभ यु’ भनेर नाटक गर्नु पर्ने, आइ वान्न बि विथ् यु फोरेबर’ भन्नु पर्ने ? यति भन्दै गर्दा चक्लेट त दिनु नि भन्ने कुरो आउँछ । त्यो बनाओटी चक्लेटले गर्दा दाँत किराले खान्छ, अनेक थरिका कुरा हुन्छन्, त्यसबाट पाउने क्यालोरीभन्दा तिमी मसँग हुँदा जुन ऊर्जा पाउँछ्यौ नि, त्यो त यो चक्लेटले दिने क्यालोरीभन्दा कति गुणा बढी हुन्छ हुन्छ । यदि तिमीले स्वच्छ मिठास स्वतः सधैँ पाइराखेकी छौ त अनि मैले कृत्रिम मिठास कसरी ल्याउने प्रयत्न गरौँ ?

थाहा छ, तिमी पनि गुडिया भनेपछि हुरुक्क हुन्छ्यौ । म त मेरो तन मन सबै कुरा नै उपहार जसै तिमीलाई दिएको छु। हाम्रो प्रेम गहिराइमा स्वतः नै पुग्दै छ त । ती डेटी टोयज दिएर प्रेम थप गहिराइमा पुगोस् भनेर किन नाटक गर्नु ? यसको मतलब मैले चक्लेट र टेडी उपहार दिने कुराको विरोध त कदापि गरेको होइन । यदि त्यही कुराले कसैलाई खुसी मिल्छ भने नाइँ भन्न त कहाँ सकिएला र ? खासकुरा चाहिँ भ्यालेन्टाइन विकको हो । ती दिनमा मात्र नाटकझैँ गर्न जरुरी हो ?

प्रेमको परिभाषा के ? यदि तिमी र ममा साँचो प्रेमको अनुभूति भएको छ भने प्रमिस डे कुरेर फेरि त्यही प्रेम पक्का हो भनी नाटक गर्न जरुरी हो त ? यदि प्रेम साँचो हो भने दिन गिन्ती गर्दै किस डे कुरेर चुम्बन गर्न अनि साँचो प्रेम अङ्कमाल गर्दाझैँ कसिलो बनाउन हग डे नै कुर्न पनि जरुरी त कहाँ हो र ?

तिमी र म त विज्ञानको विद्यार्थी बडी एक्साइटेड स्टेटमा पुगेपछि के के हुन्छन् भन्ने सिद्धान्त सबै कण्ठ छन् । अझै हामी प्रणय दिवस कुरेर हाम्रो प्रेमलाई अझ उत्कर्षमा पुर्याएर के हो के हो बनाउन खोज्ने । हाम्रो प्रेमको गतिजस्तो छ त्यस्तै चल्न देऊ, अरूले जे गर्छन्, जे भन्छन् त्यसैको पछाडि लाग्नै पर्ने हुन्छ त ?

प्रेम विश्वास हो, सम्मान हो,सामीप्यता हो, आत्मीयता हो, स्वीकारोक्ति हो । यदि सधैँ हाम्रो हृदयसँग जोडिएको धागोमा भावनाहरुको रमणीयताले हाम्रो स्वकीय प्रेमिल साङ्गितिक माहोल सिर्जना भइराखेको छ तर पनि तिमी प्रणय दिवसमा अड्किन्छ्यौ भने आऊ आजै एक अर्कालाई आदर गर्दै हाम्रो यात्रालाई वियोगात्मक अन्त्य गरौँ । ताकि वियोगान्तमा पनि सच्चा प्रेम झल्कियोस् अनि सँगै प्रेमकथाहरुको चाङमा हाम्रो कथा पनि थपिदिउँला ।

Nabintech