१६ कार्तिक २०८१, शुक्रबार
सुर्खेतमा बसको ठक्करबाट महिलाको मृत्यु, आफन्तले गरे वीरेन्द्रनगर बन्द

आन्दोलनमा उत्रिएका आफन्तको माग भनेको ‘आफन्तलाई नसोधेर नै किन लास उठाइयो’ भन्ने छ


  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०७९, सोमबार १०:३५

सुर्खेत : आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी वृद्ध महिलाका आफन्त सोमबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन् । विभिन्न माग राख्दै आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् ।

मृत्यु हुने महिला जाजरकोटको छेडागाड नगरपालिका–६ की अन्दाजी ६२ बर्षीय नदी रावत रहेकी छन् । उनी हाल वीरेन्द्रनगर नगरपालिका–१० को बामेखोलामा बस्दै आएकी थिएन । आइतबार दिउँसो साढे २ बजेतिर बा ४ ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । तर प्रहरीले मृतकको पहिचान नै नभएर प्रदेश अस्पताल कालागाउँमा पठायो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।
बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए । आफन्तहरूले आइतबार राति ९ बजेसम्म बसपार्क, मंगलगढी चोक लगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए ।

आज बिहानैदेखि पुनः आन्दोलनमा उत्रिएका आफन्तको माग भनेको ‘आफन्तलाई नसोधेर नै किन लास उठाइयो’ भन्ने छ । साथै उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै अहिले एरिचोक, बसपार्क अगाडी, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरिरहेका छन् ।

आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू ठप्प भएका हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी शाहीका अनुसार बस चालक फरार रहेका छन् भने बसलाई नियन्त्रणमा लिएर राखिएको छ । फरार बस चालकको खोजी कार्य भइरहेको उनले बताए ।

Nabintech