काठमाडौं : बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ।
श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए।
उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते हुनुभएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको हो।
निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ। नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।
भण्डारीलाई नर्भिक इन्टरनेसनल अस्पताल र कीर्तिपुर बर्न अस्पतालका क्रिटिकल कियरका चिकित्सक सहितको टिमले एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागिएको हो।
हाल उनलाई मुम्बई लैजानको लागि सबै कागजात मिलाइसकिएको र अस्पतालदेखि विमानस्थलसम्म लैजाने एम्बुलेन्सलाई समेत तयारी अवस्थामा राखिएको छ।
सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन
ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ। उनको आज विहान १० बजेर ५७ मिनेट जाँदा उपचारका क्रममा निधन भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारले थाहाखबरलाई जानकारी दिइन्।
हिजो राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो।
कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ। उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।
भण्डारीको अवस्था बुझ्न कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री पदम गिरी लगायत अस्पताल पुगेका थिए।