११ मंसिर २०८१, मंगलवार
हात्तीपाइले रोग निवारणका लागि बैजनाथमा अभियान चल्दै

फागुन ११ गतेबाट झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाइने


  • टाइम्स संवाददाता

  • ५ फाल्गुन २०७९, शुक्रबार १८:२७

कोहलपुर, बांके:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानिय स्तरमा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सुरु गर्न लागेको छ । बांकेको बैजनाथ गाउपालिकामा समेत हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहिले बताएका छन ।

पालिका स्तरमा बिभिन्न समुदाय, राजनितिज्ञ, स्वास्थ्यकर्मिहरुलाई ओरेन्टेसन कार्यक्रम सम्पन्न भएको र अभियानलाई स्वास्थ्यकर्मिको सहायतामा गाउ गाउमा लैजाने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख शाहिको भनाई छ ।

बैजनाथ गाउपालिकामा प्राथमिक स्वास्थ्य संस्था एक, स्वास्थ्य चौकी ३ र आधारभुत स्वास्थ्य केन्द्र चार गरि जम्मा ८ स्वास्थ्य संस्था रहेका छन । गत आर्थिक बर्षमा आठ जनामा हात्ति पाईले रोगका सामान्य लक्षण भेटिएको बैजनाथ गाउपालिका यस बर्ष करीब ७१ हजार आठ सय एकसठ्ठी जनालाई औषधि सेवनमा सहभागि गराउने लक्ष्य रहेको छ ।

यी औषधिले हात्तीपाइले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट पनि बचाउँछ। यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाइले रोगका परजीवी भएका व्यक्तिमा यो औषधि सेवन गरेपछि टाउको दुख्ने‚ वाकवाकी लाग्ने र पेट दुख्ने हुनसक्छ भन्दै स्वास्थ्य शाखा प्रमुख शाहिले ती लक्षण केही घण्टामा आफैं हराएर जान्छन्। लामो समयसम्म समस्या रहिरहे स्वास्थ्य संस्थामा जानुपर्ने धारणा ब्यक्त गरे ।

पहिलो कुरा हात्तीपाइले रोगका लक्षण नदेखिए पनि रोगका परजीवीहरू शरीरमा हुनसक्छन् र औषधि खाएपछि ती परजीवी मर्छन्। औषधि सेवन गरेमा तपाईंको शरीरमा भएका हात्तीपाइलेका परजीवी अरूमा सर्दैनन्।

यो कार्यक्रम सञ्चालन हुने जिल्लाका यो औषधि खान योग्य सबैले खानुपर्छ। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरू तथा ओछ्यान परेका सिकिस्त विरामीले यो औषधि खानु हुँदैन।

यो रोगविरुद्धको औषधि सेवन कार्यक्रम लागू भएका जिल्लामा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले तपाईंको घर नजिकैको बुथमा तथा घरभेटमा औषधि दिने गर्छन्।

नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरिसकिएको छ। औषधि खानुपर्नेले नखाइदिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गर्दा रोगको दर अपेक्षाकृत रूपमा नघटेकाले १४ जिल्लामा पटक पटक औषधि खानु परेको छ।

यस बाहेक रसुवा जिल्लामा गत साल गरिएको रक्त नमूना सर्वेक्षणमा हात्तीपाइले जनस्वास्थ्यको समस्याको रूपमा देखिएकाले यो वर्ष रसुवा सहित १५ वटा जिल्लामा आम औषधि खुवाइन लागेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ११ गतेबाट झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाइनेछ।

स्वास्थ सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले प्रभावित जिल्लाका सबैलाई औषधि सेवन गर्न आग्रह गरे। सरकारले हात्तीपाइले रोग निवारणका लागि अभियान चलाउँदै आएको छ।

Nabintech