काठमाण्डाै: नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि थप १५ दिन दिउँसोको समयमा बन्द हुने भएको छ । चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।
सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी रोकेर पहरो काट्ने काम गरिनेछ । यसअघि गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । त्यसपछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गरिएको थियो । थप गरिएको समय आज सकिएको छ । तर काम नसकिएपछि सरोकारवालासँग छलफल गरी थप १५ दिन दिउँसोको समयमा सडक बन्द गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । यो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
तीन मुख्य ठाउँ कालीखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउने काम भइरहेको छ । कालीखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बनाउने काम चलिरहेको छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम सकिन लागेको छ भने नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।