रुपन्देही : रुपन्देहीको सैनामैनामा बेहुला बेहुली चढेको कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाइन बिचको जङ्गलमा रोकिराखेको लु २ ख ४३० नम्बरको ट्रकमा बिहीबार बिहान पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको कार ठोक्किएको थियो।
दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया सुशीला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मिको सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ।
घाइते मध्ये कविताकुमारी थारुको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
कपिलवस्तुको विजयनगरमा टिप्परले मोटरसाइकलाई ठक्कर दिँँदा गम्भीर घाइते
कपिलवस्तुको विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकलाई ठक्कर दिँँदा एक जना गम्भीर घाइत भएका छन् । विजयनगर– ५ हुलाकी सडकमा बा ३ क ४२८ नम्बरको टिप्परले लु ५५ प १७३ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा विजयनगर १ नयाँ गाउँ बस्ने मोटरसाइकल चालक १८ वर्षीय नगेन्द्र कुमाल गम्भीर घाइते भएका छन् ।
त्यस्तै मोटरसाइकल पछाडी सवार २१ वर्र्षीय कमल कुमाल सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । घाइतेहरुको उपचार सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा भइरहेको प्रहरी निरीक्षक विजय तिमिल्सिनाले जानकारी दिए । टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।