सल्यान: पार्टी कार्यकर्ताको गुनासो सुन्न र अन्तरक्रिया गर्नका लागि नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट सल्यानमा प्रभावकारी देखिएको छ । जिल्लाको दश वटै स्थानीय तह स्थित गाउँवस्तीमा एमालेका केन्द्रीय प्रतिनिधिहरू खटिएका छन् । यसअघि चुनावको बेलामा मात्रै नेता कार्यकर्ता गाउँ घुम्ने परिपाटी भएकोमा अहिले पार्टीले चलाएको यस अभियानले कार्यकर्तामा उत्साह पैदा गरेको एमाले सल्यानले जनाएको छ ।
पार्टीको प्रभावलाई विस्तार गर्न तथा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन अभियानले राम्रो भूमिका खेल्ने एमालेको विश्वास छ । अभियान अन्तरगत वस्तीस्तरका कार्यक्रम र भेलाहरूमा स्थानीयहरूले पार्टीका नेता कार्यकर्तालाई नियमित रूपमा जनतासँग सम्पर्कमा रहन सुझाव दिने गरेको एमाले सल्यानका सचिव बुढाथोकीले बताए । जिल्ला तथा प्रदेशका नेताहरूलाई आफूहरूले फोन गरेको बेला उठाउन, पार्टी कमिटीका बैठकहरू नियमित राख्न, आफ्ना सुख दुखमा साथ दिन स्थानीयहरूले आग्रह गर्ने गरेको अभियानमा खटिएका प्रतिनिधिहरू बताउँछन् ।