११ मंसिर २०८१, मंगलवार
नेपालगञ्ज नाकामा बढ्यो कोरोना

सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै


  • टाइम्स संवाददाता

  • २४ चैत्र २०७९, शुक्रबार १०:४९

नेपालगञ्ज: नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । मौसमी कामका लागि भारत गएर फर्किएका नेपालीमा कोरोना देखा परिरहेको हो ।

सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजबहादुर वलीका अनुसार भारतको गढवाल, चेन्नाई, लखनऊ र हिमाञ्चलबाट आएका नेपालीमा कोरोना देखिएको छ । उनीहरु सुर्खेत, बाँके र दैलेख जिल्लाका हुन् । यो नाकामा चैत महिनामा ३४ जनामा कोरोना देखिएको छ । कोरोना देखिएकाहरुमा सामान्य लक्षण देखिएको छ । उनीहरुलाई घरमा गएर बस्न सल्लाह दिदै पठाउने गरिएको छ । भारतमा ठूलो संख्यामा कोरोना संक्रमित देखा पर्दा त्यसको असर नेपालमा पर्ने गर्दछ । नेपालका पहाडी जिल्लाका ठूलो संख्याका नेपाली कामका लागि भारत जाने गर्दछन् । उनीहरु घर फर्किदा कोरोना बोकेर आउने गरेका छन् ।

नेपालगञ्ज नाकाबाट कामका लागि भारतमा प्रायः दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सुर्खेतका मानिस जाने गर्दछन् । सधैं भीडभाड हुने यो नाकामा सरकारले कोरोनाको संक्रमण देखिदादेखि नै जाँच गर्ने व्यवस्था मिलाएको छ । बीचमा कोरोना नदेखिएपछि जाँच बन्द गरिएको थियो । भारतमा पुनः कोरोना देखिन थालेपछि नेपालगञ्ज नाकामा सतर्कता अपनाइएको छ । भारतबाट आउने सबैजसोलाई रोकेर जाँच गर्ने गरिन्छ । पहाडी जिल्लाका मानिसलाई कोरोना देखिए पनि नाकामा ‘पुष्टि’ गरेर पठाउनुबाहेक केही हुने गरेको छैन । भारतबाट आएका नेपालीलाई नाकामा लाइन लगाएर एन्टिजेन जाँच गरिन्छ र कोरोना पुष्टि भएकालाई ‘तिमीलाई कोरोना छ, घरमा गएर बस्नू’ भनेर पठाउने गरिन्छ । लक्षणसहित देखिएका संक्रमितलाई पनि यहाँ कुनै उपचार गरिदैन । कोरोना जाँचको कुनै अर्थ देखिएको छैन ।

Nabintech