१० मंसिर २०८१, सोमबार
युवा संघको महाधिवेशन: ध्वजा पतकाले सिंगारिदैै नेपालगञ्ज

कोहलपुरदेखि नेपालगञ्जको होटल स्नेह सम्म झण्डा र ब्यानर


  • टाइम्स संवाददाता

  • २५ चैत्र २०७९, शनिबार १३:४१

नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनले नेपालगञ्ज शहर सिंगारिदै गएको छ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघको यहि चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारी तथा प्रचार सामग्रीले नेपालगञ्ज सजिएको छ ।

कोहलपुरदेखि कार्यक्रमस्थल नेपालगञ्जको होटल स्नेहसम्म राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन सम्बन्धि झण्डा र ब्यानर लगाईएको छ भने ठाउँ–ठाउँमा स्वागतद्वार बनाईएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेशनको उदघाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले बताए ।

महाधिवेशन शुरु हुन दुई दिन बाँकी रहँदै अधिकांश तयारी पूरा भईसकेको उनले जानकारी दिए । महाधिवेशनको उदघाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने गरी मञ्च निर्माणको कार्य भईरहेको उनको भनाई छ ।

महाधिवेशन उदघाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढि जनपरिचालन गरिने उनको भनाई रहेको छ । महाधिवेशन उदघाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुनेछन् ।

उदघाटन समारोहमा कलाकार बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रबि वड लगायतले सांगीतिक प्रस्तुती दिने कार्यक्रम तय भएको छ । महाधिवेशनको तयारीका लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष, महासचिव लगायत नेताहरु कार्यक्रम स्थल नेपालगञ्जको होटल स्नेहमा खटिएका छन् ।

महाधिवेशनमा भाग लिन देशभरीका दुईहजार बढि प्रतिनिधि र अतिथिहरु नेपालगञ्ज आउँदै छन् । प्रतिनिधि तथा अतिथिहरुलाई नेपालगञ्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको महाधिवेशन आवास तथा खाद्य व्यवस्थापन समिति संयोजक रबिन्द्र लम्सालले जानकारी दिए ।

Nabintech