नेपालगञ्ज:सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।
बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताउनुभयो । तर पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ ।
नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ ।
बिसुकै लागि भनेर रोजगारीका लागि देश बाहिर रहेका पनि घर फर्किने गरेका छन् । बिसु पर्व घरपरिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउनका लागि भनेर भारतबाट घर फर्किएको दोगडाकेदार–३ का स्थानीय महेश नाथले बताउनुभयो ।
सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुई–चार महिनाका लागि कामको खोजीमा भारत पस्ने गरेका छन् । यहाँका स्थानीय गहुँ लगाएर तीन महिनादेखि छ महिनासम्म मजदुरीका लागि भारतीय सहरमा गएर पैसाको जोहो गर्छन् ।
बिसुपर्व सुदूरपश्चिममा विशेष चाडका रूपमा मनाइने गरिन्छ । रोजगारीका लागि बाहिर गएकाहरू पनि बिसु मनाउन घर फर्किएका छन् । नयाँ वर्षको पहिलो दिन देवर भाउजु एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइने गरिन्छ । यस दिन आफैँले पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।
बिसुु पर्वमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको साहित्यकार रमेश पन्त मीतबन्धुले बताउनुभयो । उहाँले बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास ररिआएको बताउनुभयो । “शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने हाम्रो जनविश्वास छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने प्रचलन कम हुन थालेको छ ।”
यस पर्वलाई विष फाल्ने पर्वका रूपमा पनि चिन्ने गरिन्छ । हिन्दूहरूमा यस दिनलाई नयाँ वर्षका रूपमा सबैले मनाउने गरेको भए पनि सुदूरपश्चिममा भने मौलिक प्रकृतिले मनाउने गरिन्छ । यस दिन हरेक मानिस बिहानै गङ्गा स्नान, तीर्थ स्नान तथा घरमै पनि स्नान गरेर विष बगाउने प्रचलन रहिआएको शस्त्री जनार्जन अवस्थीले जानकारी दिनुभयो ।
“नुहाउँदा अन्य मन्त्रका साथै विष बग्यो फूल चढ्यो भन्ने प्रचलन छ”, उहाँले भन्नुभयो, “यसरी विधिपूर्वक गरिएको यस दिनको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ ।” विधिपूर्वक स्नान गरी विष बगाउने कार्य गरिने भएकाले पनि यस पर्वको नाम बिसु रहेको उहाँ बताउनुहुन्छ ।
यो दिन हरेक मानिसले शरीरमा रोग नलागोस् र विशाक्त पदार्थ हटेर जाओस् भन्नका निमित्त सिस्नो लगाउने गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरूमा पनि विशेष पूजा तथा मेलासमेत लाग्ने गर्दछ । यस दिनमा इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्का आदि विभिन्न परिकार पकाएर बिसु मनाउने गर्दछन् ।