काठमाडौं : नेपालमा मंगलबारदेखि आयोजना हुन लागेको एशियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा आइतबार गरेको हो। वैशाख ५ देखि १८ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुने छन्। मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो।
कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र ओमान छन्। यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन्।
हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन्। प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि छनोट हुनेछ। यसैगरी प्रतियोगिताका शीर्ष ३ टोली एशिया इमर्जिङ कपका लागि छनोट हुने छन्।
प्रतियोगितामा नेपालले वैशाख ५ गते मलेसियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ। यसैगरी नेपालले वैशाख ८ गते ओमान, ११ गते साउदी अरेबिया र १४ गते कतारसँग खेल्नेछ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल र गुल्सन झा