१० मंसिर २०८१, सोमबार
रोल्पाका चार पालिकामा आफ्नै प्रहरी

राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने


  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८०, सोमबार १०:००

राेल्पा: रोल्पामा विभिन्न चार पालिकाले आफ्नै प्रहरी भर्ना गरेका छन् । जिल्लाका रोल्पा नगरपालिकासहित सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिकाले प्रहरी भर्ना गरेका हुन् ।

रोल्पा नगरपालिकाले तीन महिलासहित १० जा नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हबलदार रहेका छन् भने नौ प्रहरी जवान छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन् ।

जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने पालिका रुन्टीगढी गाउँपालिका हो । रुन्टीगढीले एक महिलासहित नौ  नगर प्रहरी भर्ना गरेको छ । रुन्टीगढीले एक जना प्रमुख नगर प्रहरी र आठ  नगर प्रहरी पद सिर्जना गरी भर्ना गरेको हो । नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हुँदै आएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो । ‘शान्ति सुरक्षालाई चुस्त राख्नका साथै अन्य गतिविधिमा समेत नगरप्रहरी परिचालित हुन्छन्’, उहाँले भन्नुभयो ।

जिल्लाको माडीले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । माडीले  दुई महिलासहित सात जना गाउँ प्रहरी भर्ना गरेको हो । गाउँ प्रहरीमा एक प्रहरी सहायक निरीक्षक र छ प्रहरी जवान कार्यरत छन् ।

त्यसैगरी सुनिलस्मृतिले नगर प्रहरी भर्ना गरेको छ । पाँच  जना नगर प्रहरी भर्ना गरेको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनुभयो । ट्राफिक व्यवस्थापन, बजार अनुगमन, शान्ति सुरक्षालाई चुस्त राख्नका समेत नगर प्रहरी परिचालित गरिएको उहाँले बताउनुभयो ।

रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन्।  पालिकाले भर्ना गरेका प्रहरीलाई सलामी, पिटी परेट, भिड नियन्त्रण, रेक्यु, विपद् व्यवस्थान तथा उद्धार र सामान्य हतियार  सञ्चालनसम्बन्धी एक महिनासम्मको तालिम सञ्चालन गरिएको थियो । प्रहरीलाई कार्यालय सञ्चालन, ‘चेन अफ कमाण्ड’लगायतका विषयमा समेत तालिम दिइएको थियो ।

राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने सोच पालिकाहरुको भनाइ छ । नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । पालिकाहरुले भर्ना गरेको प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हुँदै आएको छ । रोल्पामा एक नगरपालिकासहित दश पालिका रहेका छन् ।

Nabintech