नेपालगञ्ज : बाँकेमा चालु आर्थिक बर्षको १० महिनामा ३४ हजार ५७५ वटा सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार ट्राफिक नियम उल्लघन गर्नेमा सबैभन्दा धेरै ट्रक र मोटरसाइकल देखिएका छन् । जसअनुसार सबैभन्दा धेरै ११ हजार ५६० ट्रक र ११ हजार १७१ मोटरसाइकल कारबाहीमा परेका छन् ।
त्यस्तै ६ हजार ४९३ जीपकार, २ हजार ५७६ बस, १ हजार ७७० ट्याक्टर र १ हजार ५ टेम्पो तथा अन्य सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक तिलक सुनारले ट्राफिक नियम विपरित सञ्चालन गरिएका सवारी साधन कारवाहीमा परेको जानकारी दिए ।
ट्राफिक प्रहरीले भने दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनामा जोड दिएसँगै कारबाहीमा पर्ने सवारी साधनको संख्या बढेको प्रहरी निरीक्षक सुनारले बताए । उनका अनुसार मापसे कारवाही, सिटवेल्ट नलगाएका, तीव्र गति, ओभरलोड, सडक लेनको नियम र अनुशासन विपरित गाडी चलाएका सवारी साधनलाई कारबाही गरिएको हो ।